मणिपाल शिक्षण अस्पतालका नर्सहरूले जारी राखेको आन्दोलनपछि पोखराको अर्को ठूलो निजी अस्पताल गण्डकी मेडिकल कलेज (जीएमसी)का नर्सहरू पनि पारिश्रमिक वृद्धि माग गर्दै आन्दोलनमा उत्रिएका छन् । ०८२ असोज २७ गते साँझदेखि सुरु भएको आन्दोलन अघि उनीहरूले अस्पताल प्रशासनसँग बारम्बार छलफल गरेका थिए । तर प्रशासनले माग पूरा गर्न नसक्ने बताएपछि उनीहरूले काम रोकेका हुन् ।

नर्सहरूले अस्पताल परिसरमा भेला भएर ‘श्रम शोषण बन्द गर’, ‘हामी मेसिन होइनौं’ र ‘सरकारी सरह सुविधा दे’ जस्ता नारा लगाउँदै एक घण्टा शान्तिपूर्ण विरोध कार्यक्रम गरे । एक नर्सले भनिन्, ‘हाम्रो तलब सरकारी अस्पतालका दरभन्दा निकै कम छ । हामीले पनि समान सेवा दिइरहेका छौं, त्यसैले समान पारिश्रमिक पाउनैपर्छ ।’ उनका अनुसार अहिले अर्थो, गाइनो र एचसीयू विभागमा सेवा स्थगित गरिएको छ र माग सम्बोधन नभए अन्य महत्वपूर्ण विभाग पनि बन्द गर्ने तयारी छ । गण्डकी मेडिकल कलेजमा करिब ३ सय ५० नर्स कार्यरत छन् । सरकारले गत मंसिर २७ गते स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सेवाभन्दा कम राख्न नपाइने निर्णय गरे पनि निजी अस्पतालहरूले त्यसको कार्यान्वयन गरेका छैनन् ।
आन्दोलत नर्सहरुले सरकारी सेवा सुविधा अनुसार तलब पाउनुपर्ने मागसहित आन्दोलत गरिरहेका छन् । अहिले नर्सको सरकार तलब स्केल चौंथो तहबाट सुरु हुन्छ । कसरकारी सेवामा चौथो तहको अनमीको पारिश्रमिक ३५ हजार २ सय ८८, पाँचौं तहको स्टाफ नर्सको ३८ हजार २ सय ९०, अधिकृत छैटौंको ४४ हजार ३ सय २५, अधिकृत सातौंको ४६ हजार ५ सय १५, अधिकृत आठौंको ४८ हजार ३२, अधिकृत नवौंको ५१ हजार ६ सय ६०, अधिकृत दशौं तहको ५५ हजार ९ सय ६४, अधिकृत एघारौं तहको ५७ हजार ८ सय ६२ र अधिकृत बाह्रौं तहको ६६ हजार ८ सय ६० रुपैयाँ तोकिएको छ । उनीहरु यो पारिश्रमिक पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका हुन् । यो तलब नपाए आफूहरु आन्दोलन निरन्तर जारी राख्ने उनीहरुको माग छ ।
सञ्जय रानाभाट