जेनजी आन्दोलनका क्रममा कास्कीमा ९२ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत झविश्वर रेग्मीले संघीय स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयको तथ्यांक अनुसार कास्कीमा ९२ जना घाइते भएको जानकारी दिएका हुन् ।
जिल्ला प्रशासनले कार्यालय कास्कीले वेबसाइटमा सरकारले घाइतेहरूलाई परिचयपत्र र भैपरी खर्च वितरण गर्ने प्रक्रिया सुरु गर्ने जनाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले असोज २४ गते सार्वजनिक गरेको सूचनामार्फत घाइतेलाई आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । सूचनामा भनिएको छ, ‘नेपाल सरकारले असोज १२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार परिचयपत्र वितरण गर्ने निर्णय अनुसार गृह मन्त्रालयबाट प्राप्त सूचनाअनुसार ‘जेनजी आन्दोलन घाइते परिचयपत्र’ तयार भइसकेको र असोज २६ गतेदेखि वितरण सुरु गरिनेछ ।’
कास्की जिल्लामा स्थायी ठेगाना भएका घाइतेले आफ्नो नाम सूचीकृत रहेको भए अस्पतालको उपचार पूर्जी वा डिस्चार्ज कागजात, नेपाली नागरिकताको प्रमाणपत्र (सक्कल), दुई थान फोटो, घाइतेको नाममा रहेको बैंक खाताको चेकको प्रतिलिपि अनिवार्य लिएर सम्पर्क गर्नुपर्ने छ । आन्दोलनका क्रममा घाइते भई उपचार गराएका व्यक्तिहरूलाई तत्कालका लागि भैपरी खर्चबापत प्रति व्यक्ति २० हजार रुपियाँ दिइनेछ ।
सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जारी गरेको सूचनामा परिचयपत्र र त्यसको अभिलेखमा घाइतेको औंठाछाप अनिवार्य रूपमा आवश्यक पर्ने भएकाले घाइते व्यक्ति स्वयं उपस्थित हुनुपर्ने भनिएको छ । स्वयं उपस्थित हुन नसक्ने घाइतेको हकमा, परिवारका सदस्यले कार्यालयमा जानकारी गराउन सक्ने प्रावधान राखिएको छ । यो कार्यको समन्वयका लागि प्रशासकीय अधिकृत झविश्वर रेग्मीलाई सम्पर्क व्यक्ति तोकिएको छ ।
सञ्जय रानाभाट