वैशाख २ गतेदेखि जारी विद्यार्थी भर्ना अभियानलाई सफल बनाउन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहजीकरणमा जिल्लाको विभिन्न ठाउँमा विद्यार्थी भर्ना अभियान थालिएको छ ।
इन्सेकद्वारा संचालित ‘मानवअधिकार उल्लंघन तथा ज्यादती पीडितहरूको अधिकार प्रबर्द्धन’ कार्यक्रमअन्तर्गत भर्ना अभियान सुरु गरिएको हो । कलैया उपमहानगरपालिकाको वडा नम्बर-१५ खम्बा र जितपुरसिमरा उपमहानगरपालिका-२४ मनहर्वामा वडा कार्यालयको समन्वयमा जारी विद्यार्थी भर्ना अभियानअन्तर्गत सचेतनामुलक र्याली र घरदैलोलगायतको जागरण अभियान चलाइएको इन्सेकका जिल्ला सहजकर्ता भोलानाथ पौडेलले बताए ।
जिल्लामा १० हजार बालबालिका विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालयको तथ्याङबाट देखिन आएकोले कोही पनि विद्यालयबाट छुट्न नपाउन् भन्ने उदेश्यले अभियान संचालन गरिएको उनले बताए ।
अभियानअन्तर्गत इन्सेकको सहकार्यमा कलैया उपमहानगरपालिका-१५ का वडा अध्यक्ष भोरिकप्रसाद यादवले विद्यार्थी भर्ना गर्न राती टोलटोलमा चौकीदार खटाई सुचना प्रवाह गराउन सुरु गरेका छन् । अभियानलाई इन्सेकद्वारा विद्यालयहरूमा गठित बालबालिकाको बाल अधिकार चेतना समूहले सघाएको छ ।