INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँपालिकाको केन्द्र विवादमा प्रमुख तथा उपप्रमुखमाथि हातपात

गाउँपालिकाको केन्द्र सार्न लागिएको भन्दै खोटाङको बराहपोखरी गाउँपालिकाका प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधिमाथि स्थानीयले हातपात गरेका छन् । हालसम्म अस्थायी रुपमा वडा नम्बर-३ साउनेचौरबाट सञ्चालन हुँदै आएको गाउँपालिकाको कार्यालयलाई यथास्थानमा राख्नुपर्ने पक्षमा दबाब दिन साउनेचौरका स्थानीयले गाउँ कार्यपालिकाको बैठक चलिरहेकै समयमा वैशाख ८ गते गाउँपालिका प्रमुख शालिकराम बञ्जरा, उपप्रमुख गोमा मगर, वडाध्यक्ष तथा गाउँकार्यपालिकाका सदस्यहरू माथि हातपात गरेका हुन् ।

स्थायी केन्द्र तोकिएको वडा नम्बर-४ फाक्टाङस्थित बाघखोर भञ्ज्याङमा गाउँपालिकाको भवन निर्माणका लागि प्राप्त भएको जग्गा पास गर्नका लागि सिफारिस दिने लगायत निर्णयका लागि वैशाख ८ गते बसेको कार्यपालिकाको सदनमै आक्रमण प्रयास भएको उपप्रमुख गोमा मगरले बताइन् । स्थानीयले जनप्रतिनिधिमाथि हातपात गर्न थालेपछि कार्यपालिकाको अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

समस्या समाधानका विषयमा छलफल राखिएको भए पनि छलफल हुन नसकेको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए । गाउँसभाको सिफारिस अनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बराहपोखरी गाउँपालिकाको केन्द्र बाघखोर तोकेको थियो । जनप्रतिनिधिको सुरक्षा चिन्ता बढेपछि प्रहरी परिचालन भएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए ।

अन्य

भिडियो