चितवनको सौराहा घर भई काठमाडौँ बसपार्क क्षेत्रमा बस्दै आएकी २२ वर्षीया रियाना अधिकारीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले सल्यान जिल्ला शारदा नगरपालिका-१ का २२ वर्षीय गोपाल शर्मालाई ०७४ चैत ३० गते गिरफ्तार गरी वैशाख २ गते सार्वजनिक गरेको छ ।
गिरफ्तार परेका शर्मा र मृतक युवती चैत २३ गते राति टोखा नगरपालिका-९ मिलन टोल स्थित न्यू भुमेश्वर गेष्ट हाउसको २०३ नम्बर कोठामा २ हजार दिने आपसी सम्झदारीमा सँगै बसेको आरोपितले बताएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी मोहनकुमार थापाले बताए ।
‘मृतक युवतीले मैले यसरी कति केटालाई लुटिसकेँ । तँलाई पनि लुटने नै हो । तँ तेरै आमा, दिदिबहिनीसँग सम्पर्क गर भन्दै गाली गरिन् ।’-गिरफ्तार परेका शर्माको भनाई उद्घृत गर्दै डिएसपी थापाले भने-‘सहमतीमा सँगै होटल गएको र रक्सी पनि सँगै खाए । तर, सम्पर्क गर्न नदिई आमाचाकारी गाली गलौज गरेपछि रिसले घाँटी थिची हत्या गरे ।’
हात, गोडा र घाँटी बाँधिएको अवस्थामा युवतीको शव फेला परेको थियो । युवतीको हत्या गरी फरार भएका शर्माले बसेको होटलको आगन्तुक पुस्तिकामा आफ्नो ठेगाना दाङ जिल्लाको घोराही नगरपालिका-१ का २६ वर्षीय विकास वली भनी उल्लेख गराएका थिए । मृतकको शवको पोष्टमार्टम ०७४ चैत २३ गते त्रिविवि शिक्षण अस्पताल काठमाडौँमा गरिएको थियो ।