INSEC Online

📅 २०८३ श्रावण ६

मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका १ हजार २ सय १ परिवारलाई आवास निर्माण

केही वर्षअघिसम्म वर्षात् लाग्नेबित्तिकै फुसको छानो चुहिने, हुरीबतास चल्दा रातभर निद्रा हराउने र आगलागीको त्रासमा दिन बिताउने सिरहा र सप्तरीका १ हजार २ सय १ विपन्न परिवारका लागि अहिले जीवन नै फेरिएको छ ।

फुसको अस्थायी टहराबाट पक्की घरमा सरेसँगै ती विपन्न परिवारहरूको दैनिक जीवन सुरक्षित, सम्मानित र आशावादी बनेको छ । मधेस प्रदेश सरकारले सञ्चालन गरेको जनता आवास, महेन्द्रनारायण निधि विपन्न आवास र विपन्नसँग मदन भण्डारी विपन्न आवास कार्यक्रमअन्तर्गत सिरहा र सप्तरीका गरी १ हजार २ सय १ परिवारले पक्की घर प्राप्त गरेका छन् । दलित, विपन्न र सीमान्तकृत समुदायको जीवनस्तर उकास्ने सामाजिक अभियानका रूपमा स्थापित हुँदै गएको छ ।

ती जिल्लाका अधिकांश दलित तथा विपन्न परिवार वर्षौँदेखि फुसको छानो भएको झुपडीमा बस्दै आएका थिए । “वर्षा लागेपछि घरभित्रै पानी चुहिन्थ्यो, गर्मीमा अत्यधिक ताप सहनुपथ्र्यो, आगलागीको जोखिम त झन् सधैँको चिन्ता थियो”, सिरहाको सिरहा नगरपालिका–९ निवासी रशमादेवी राम भन्नुहुन्छ, “तब पक्की घर पाएपछि अहिले सबै चिन्ताबाट मुक्त भएको अनुभूति भइरहेको छ ।” यो जुनीमा पक्की घरमा सुत्न पाउँछु भन्ने सपना पनि देख्न सकेका थिइनँ, तर पाएकाले असाध्यै खुसी छु, उहाँको भनाइ छ ।

सरकारको आवास कार्यक्रमअन्तर्गत पक्की घर पाएपछि लाभग्राही परिवारको जीवनमा उल्लेखनीय परिवर्तन आएको छ । पूर्वाधार विकास कार्यालय सिरहाका सबइन्जिनियर जीवछकुमार यादवका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म सिरहामा तीनवटा आवास कार्यक्रममार्फत ६ सय १२ परिवार लाभान्वित भएका छन् ।

यसमध्ये जनता आवास कार्यक्रमबाट ५ सय १२, महेन्द्रनारायण निधि विपन्न आवास कार्यक्रमबाट ६९ तथा विपन्नसँग मदन भण्डारी विपन्न आवास कार्यक्रमबाट ३१ परिवारले पक्की घर पाएका छन् । सिरहाको औरही गाउँपालिकामा मात्रै जनता आवास कार्यक्रमअन्तर्गत ४ सय ४७ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको छ । यसले औरही क्षेत्रका विपन्न समुदायको आवासीय अवस्थामा ठूलो सुधार ल्याएको स्थानीयको भनाइ छ ।

यस्तै सप्तरीमा पनि आवास कार्यक्रम प्रभावकारी रूपमा अघि बढेको छ । पूर्वाधार विकास कार्यालय सप्तरीका सबइन्जिनियर रामाकर झाका अनुसार जनता आवास कार्यक्रमबाट ५ सय १५, महेन्द्रनारायण निधि विपन्न आवास कार्यक्रमबाट ५६ तथा विपन्नसँग मदन भण्डारी विपन्न आवास कार्यक्रमबाट १८ गरी ५ सय ८९ परिवारले नयाँ घर पाएका छन् ।

नयाँ घर पाएसँगै धेरै परिवारले असुरक्षित झुपडी छाडेर सम्मानजनक जीवन सुरु गरेको झाको भनाइ छ । यद्यपि, कार्यक्रम पूर्ण रूपमा सम्पन्न भने भइसकेको छैन । सिरहामा जनता आवास कार्यक्रमअन्तर्गत करिब ४० र महेन्द्रनारायण निधि कार्यक्रमअन्तर्गत २७ घर निर्माणाधीन छन् ।

सप्तरीमा जनता आवास कार्यक्रमअन्तर्गत ७ सय ९१ घर निर्माणको सम्झौता भए पनि हालसम्म ५१५ वटामात्रै सम्पन्न भएका छन् । दुई सय ८८ वटा निर्माणाधीन छन् भने ८८ वटा घरको निर्माण अझै सुरु हुन नसकेको प्राविधिक झा बताउनुहुन्छ ।

उहाँका अनुसार महेन्द्रनारायण निधि कार्यक्रमअन्तर्गत सम्झौता भएका ९२ घरमध्ये ५६ सम्पन्न, ३४ निर्माणाधीन र पाँचवटाको काम सुरु हुन बाँकी छ । आवास केवल एउटा भवन होइन, यो परिवारको सुरक्षा, स्वास्थ्य, शिक्षा र सम्मानसँग जोडिएको आधारभूत आवश्यकता हो ।

पूर्वाधार कार्यालय राजविराज सप्तरीका प्रमुख कृष्णदेव झाले सुरक्षित घर भएपछि बालबालिकाको विद्यालय जाने वातावरण सुधारिएको बताउनुहुन्छ । उहाँका अनुसार महिलाहरूले घरभित्र सुरक्षित रूपमा दैनिक काम गर्न पाएका छन भने वृद्धवृद्धा र अशक्त व्यक्तिका लागि पनि पक्की घरले सहज जीवन प्रदान गरेको छ ।

आवास कार्यक्रमले गरिबी न्यूनीकरण, सामाजिक समावेशीकरण र मानव विकास सूचकाङ्क सुधारमा समेत सकारात्मक प्रभाव पारेको प्रमुख झा बताउनुहुन्छ । प्रमुख झाका अनुसार जग्गा व्यवस्थापनमा कठिनाइ, बजेट अभाव तथा केही प्रशासनिक प्रक्रियाका कारण आवास कार्यक्रम निर्माणकार्य अपेक्षित गतिमा अघि बढ्न सकेको छैन ।

बर्सेनि निर्माण सामग्रीहरूको बजारभाउ अत्यधिक बढे पनि आवास कार्यक्रमहरूको बजेट बढ्न नसक्दा कार्यक्रम सञ्चालन गर्न चुनौती भइरहेको उहाँको भनाइ छ ।

रासस

अन्य

भिडियो