प्रदेश २ मा झण्डै दुई लाख बालबाबालिका विद्यालय भन्दा बाहिर रहेको शिक्षा विकास तथा समन्वय इकाई समिति सप्तरीले जनाएको छ ।
०७५ वैशाख ३ गतेदेखि सरू हुने विद्यार्थी भर्ना कार्यक्रमबारे जानकारी दिँदै शिक्षा विकास तथा समन्वय इकाई समिति सप्तरीका प्रमुख दोलराज पाण्डेले यस्तो तथ्याङ्कबारे जानकारी दिएका हुन् ।
क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चलको तथ्याङ्क अनुसार १ लाख ९१ हजार बालबालिका विद्यालयबाहिर रहेको जानकारी दिँदै पाण्डेले भने-‘प्रदेश २ मा पाँच देखि १२ वर्षउमेर समूहका ४९ प्रतिशत बालबालिका अझै विद्यालय बाहिर छन् । उनीहरूलाई विद्यालयमा भर्ना गराउनु र टिकाउनु ठूलो चुनौतिको रूपमा रहेको छ ।’ प्रदेश २ मा पाँचदेखि १२ वर्षउमेरका १ लाख ५३ हजार ८ सय ९ जना बालबालिका विद्यालय बाहिर रहेको उनले बताए ।
तथ्याङ्क अनुसार सर्लाहीमा सबैभन्दा बढी २५ हजार ५ सय १५, धनुषामा २४ हजार ८ सय ३६, रौतहटमा २२ हजार ९ सय ३८, पर्सामा २१ हजार ५ सय १४, बारामा २० हजार ४ सय ९, सप्तरीमा १३ हजार ४ सय ३४, सिरहामा १३ हजार ४ सय ११, महोत्तरीमा ११ हजार ७ सय ५२ बालबालिकाले विद्यालय टेक्न पाएका छैनन् ।
प्रमुख पाण्डेका अनुसार किशोरी शिक्षा कार्यक्रममा सहभागी १ हजार ७ सय ४८ जना स्वतः विद्यालय भर्ना हुने भए पनि सप्तरी जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका ११ हजार ६ सय ८६ बालबालिकाहरूलाई भर्ना गराउन चुनौति रहेको छ । डोम, मुसहर, मेहतर, भाट, बखो जातिका अधिकांश बालबालिकाहरू विद्यालय बाहिर रहेका छन् ।
शत प्रतिशत बालबालिकालाई विद्यालय भर्ना गराउन सरकारले वर्षेनी करौडौँ खर्च गर्दै आएपनि गरिब, दलित परिवारका बालबालिकाहरूले आर्थिक उपार्जनका लागि श्रम गर्नुपर्ने हुँदा विद्यालय भर्ना नहुने र भर्ना भए पनि बीचैमा पढाइ छाड्ने गरेका छन् ।