दुनैस्थित जिल्ला कारागारमा खानेपानीको स्थायी व्यवस्था नहुँदा नदीको फोहोर पानी पिउन बाध्य भएको कैदीबन्दीले गुनासो गरेका छन् ।
कारागारमा खानेपानीको व्यवस्था नहुँदा भेरी नदीको पानी खाने गरेको कैदी डाबा लामाले गुनासो गरेका हुन् । कारागार नजिक रहेका निजी व्यक्तिको घरबाट पानीको व्यवस्था मिलाइएको भएपनि निजी व्यक्तिले पानीको धारा नखोल्दा प्रायः जसो खोलाको पानी खानु परेको कैदी डाबा लामाले बताए ।
यस विषयमा जेलर जनार्दन रिमाल भन्छन्-‘कारागारको नयाँ भवन बनिरहेको छ । भवन सम्पन्न भएपछि खानेपानीलगायतका धेरै समस्या समाधान हुनेछ ।’
कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी भएकाले शौचालय प्रयोगमा समेत समस्या भएको कैदीबन्दीले गुनासो गरेका छन् ।
२५ जनाको क्षमता रहेको कारागारमा हाल ३१ जना राखिएको छ । खानेपानी र शौचालयको अभावमा कारागार वरपर फोहोर भएको छ । कारागारमा दुई ओटा मात्र शौचालय रहेका छन् । कारागारमा पुस्तकालय र खेलकुद सामाग्रीको अभाव रहेको कैदीबन्दीले जनाएका छन् ।