आमाछोदिङमो गाउँपालिकास्थित चिलिमे र हाकु स्वास्थ्य चौकीमा सरकारले निःशुल्क उपलब्ध गराउने औषधि नहुँदा सेवाग्राही समस्यामा परेका छन् ।
जिल्लाबाट औषधि उपलब्ध नहुने र औषधि खरिदको बजेट गाउँपालिकामा आएकोले गाउँपालिकाले औषधि खरिद गरेर दिनु पर्ने चिलिमे स्वास्थ्य संस्थाका प्रमुख शम्भु पण्डितले बताए ।
‘सिटामोल समेत चार/पाँच चक्की दिन समस्या भएको छ ।’-पण्डितले भने-‘माग गरेको पनि एक महिना भयो ।’
भर्खरै निर्माण भएको हाकु स्वास्थ्य चौकीको भवन निर्माण गुणस्तरीय नभएको, केही औषधिहरू सकिएको हाकु स्वास्थ्य संस्थाका इञ्चार्ज मनिष बिकले बताए । यसअघि स्वास्थ्य शिविरका लागि ल्याएर बाँकी बचेको औषधि ल्याएर वितरण गर्दै समस्या टारेको उनले बताए ।
स्वास्थ्य संस्थामा जाँदा गाउँपालिका देखाउने र गाउँपालिकाले स्वास्थ्य संस्था देखाउने गरेका कारण स्वास्थ्य उपचारका लागि आउने बिरामीहरू समस्यामा परेको चिलिमेका स्थानीय सुजिता तामाङले बताइन् । स्वास्थ्य संस्थामा औषधि नपाएपछिस्थानीय क्लिनिकमा सेवाग्राहीले महङ्गो शुल्कमा औषधि किन्न बाध्य भएका छन् ।
सरकारले निःशुल्क उपलब्ध गराउने औषधि स्वास्थ्य चौकीमा उपलब्ध नभएकोले औषधि उपलब्ध गराउन स्थानीयले माग समेत गरेका छन् । जिल्लामा जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी गरी २२ वटा स्वास्थ्य संस्था रहेको छ ।