२०५९ सालमा सङ्खुवासभाको चैनपुरमा भएको भिडन्तमा सहभागी अनुपा राई होस आउँदा अनकन्टार जङ्गलमा थिइन् । वरपर कोही थिएनन् । शरीर थिलोथिलो अवस्थामा थियो । दुःखले शरीर घिसार्दै पार्टीको सम्पर्कमा पुग्दा २१ दिन भएको थियो । ‘पार्टीको सम्पर्कमा पुग्दा पो बल्ल थाहा भयो आफ्नो मृत्यु भइसकेको भनेर शहीद घोषणा गरिसकिएको रहेछ ।’-उनले भनिन् ।

सोही ‘युद्ध’मा उनको शरीरको विभिन्न भागमा माईन बमको छर्रा छिर्यो । त्यो ‘युद्ध’ पछि पनि उनले विभिन्न मोर्चामा आफ्नो भूमिका निभाइन् । माओवादी विद्रोहमा सक्रिय रहिन् । हात र कुमको छर्रा निकालियो । तर, उनको टाउको र छातीमा रहेको छर्राले यतिबेला बेस्सरी सताउँदै छ । माओवादीका पूर्व लडाकु मनकुमार राईसँग विवाह बन्धनमा बाँधिएर पाँचथर जिल्लाको हिलिहाङ गाँउपालिका-७ एकचेप्पामा पुगेकी अनुपालाई यतिबेला शरीरमा पोल्ने, झमझम गर्ने, दुख्ने जस्ता समस्याले सताउन थालेको छ ।
द्वन्द्वको समयमा अनुपा
व्यवस्था परिवर्तन र जनताको जनजीविकामा सुधार ल्याउन १४ वर्षे कलिलो उमेरमा अनुपा युद्धमा होमिएकी थिइन् । व्यवस्था परिवर्तन भयो, पार्टी पटकपटक सत्तामा पुगिसक्यो तर उनी यतिबेला उपचारको याचना गरीरहेकी छिन् । आफ्नो स्वास्थ्यमा हरेक वर्षथपिँदै आएको समस्या पत्रकारहरूलाई सुनाउँदै अनुपाले भनिन्-‘पार्टी सरकारमा छ । राम्रो ठाँउमा लगेर उपचार गरिदिए राहत हुन्थ्यो । आफैँ उपचार गरौँ भने आर्थिक अवस्था कमजोर छ ।’
अनुपाले सरकारी सुविधा समेत पाएकी छैनन् । द्वन्द्व पीडितको नाममा विभिन्न व्यक्तिले सुविधा लिएपनि अनुपाले भने केही नपाएको गुनासो गरिन् । घाइतेको लिष्टमा उनको नाम छैन । ‘युद्ध’कै समयमा उनको विवाह भयो । एक जना छोरा छन् । पूर्व लडाकु पति मलेसियामा श्रम गर्दैछन् । ‘वर्षेनी स्वास्थ्य बिग्रिरहेको छ । उपचारका लागि सहयोग भए ठूलो राहत हुने थियो ।’-उनी भन्छिन् ।
परिवर्तनका लागि ज्यानको परवाह नगरी ‘युद्ध’मा होमिएकी अनुपा उपचारको याचनामा छिन् भने पति विदेशी भूमिमा श्रम गर्दैछन् ।
ओखलढुङ्गाको कुहिभिरकी अनुपा पढ्दापढ्दै युद्धमा होमीएकी थिइन् । उनी २०६३ सालदेखि घरमा छिन् । राईले लडेका ठूला पाँच हमलामध्ये सङ्खुवासभा चैनपुरको घटनापछि उनको शरीरमा छर्राले सतायो । गर्भवती अवस्थादेखि राजनीतिमा सक्रियता केही घट्यो । पार्टीमा आबद्ध छिन् तर पहिला झैँ सक्रियता छैन । अझै शरीरमा छर्रा बोकेर उपचारको खोजीमा छिन् । ‘पार्टी सत्तामा पुगिसकेको छ । धेरैले उपचार सुविधा पाएको भन्छन् । तर, मलाई कसैले हेरेनन् ।’-उनको गुनासो छ । दुई पल्ट उनको शल्यक्रिया भयो । शरीरका विभिन्न भागमा ६ वटा छर्रा बाँकी रहेको उनले सुनाइन् ।