INSEC Online

📅 २०८३ जेष्ठ २१

खानेपानीको धारो छुन नदिएपछि दलित समुदाय पीउने पानीबाट वञ्चित

हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका-३ का दलित समुदायलाई कथित माथिल्लो समुदायले खाने पानीको धारो छुन नदिएपछि अणीखोला गाउँका २५ घरधुरीका दलित घरपरिवार पानी खानबाट वञ्चित भएका छन् ।

संविधानको धारा १८ को समानताको हक अन्तर्गत उपदफा २ ले धर्म, वर्ण, जात, जाति, लिङ्ग जातीय आधारमा कुनै विभेद नगर्ने कुरा उल्लेख गरेपनि ताँजाकोट गाउँपालिका-३ को रामा गाउँको खानोपानीको धारामा अहिलेपनि दलित र छुई (छाउ) भएका महिलाहरूले धारो छुन नपाएको गुनासो गरेका छन् ।

सानो मन्दिर सहित सिमेन्टले बनाएको कालो पाइपको धारोको अघिल्तिर दलित र छुई भएका महिलालाई धारो छुन मनाही छ भन्ने लेखेरै धारो छुनबाट दलित र महिनावारी भएका महिलालाई धारो छुनबाट वञ्चित गरिएको छ ।

गाउँकै छेउमा भएको मुलपानीको उक्त धारोमा दलित र छुई भएका महिलाले छोएमा देवता रिसाएर पानीको मुल सुक्ने भन्दै गाउँलेले अहिले पनि उक्त धारोमा छुन दिइएको छैन । साविकको मदना र मैला गाविसबाट सदरमुकाम सिमकोट जाने मुख्य बाटो भएको उक्त धारो छुन नदिएपछि आफूलाई पानीको प्यास लागेपनि धारो नदेखे जस्तै गरेर बाटो हिड्नु परेको ताँजाकोट- ३ अणीखोलाकी प्यारू लुवारले दुखेसो गरिन् ।

ताँजाकोट गाउँपालिका-५ की रूपकली नेपालीले देउताले सुन्दैन भनेपछि धारोको घेरबार गरेको ढुङ्गा भन्दा माथि जान नदिएकोले आफ्नो जातकाले उक्त धारो नछुनु भन्दा हेर्दापनि नहेरेको बताइन् ।

कथित माथिल्लो जातका रूपमा मानिने ठकुरी बस्ने गाउँको धारो भएकाले धारोमा छुन समेत नपाएको बताएकी अमृता नेपालीले खानेपानीको धारोमा समेत छुन नपाएपछि भनिन्-‘रामा गाउँको धारोको त कुरै पर आओस्-‘छुनु भन्दा हामी धारोको पटका (ढुङ्गाको बिसौनी) लाई समेत छुन पाइदैन ।’

रामा गाउँका ठकुरीले आफूलाई डुम (दलित) ले धारो छोएमा पानी सुक्ने भन्दै बाटो बाट धारो आसपास जाँदै गाली गर्ने गरेको बताएकी उनले ३० वर्षको अवधिमा आफूले २ पटक मात्रै कथित माथिल्लो जातकालाई भाँडोबाट आफ्नो हातमा पानी हाल्न लगाएर खाएको अनुभव सुनाइन् ।

गाउँका देवता रिसाउने भएकाले आफूले सम्झेको दिनदेखि नै दलित र छुई भएका महिलाले धारो नछोएको बताएका साविकको मैला गाविसका पुर्वअध्यक्ष वृषबहादुर शाहीले दलितले धारो छोएमा पानी सुक्ने प्रतिक्रिया दिए ।

अन्य

भिडियो