सर्वसाधरणसँग प्रत्यक्ष सरोकार राख्ने निकाय भौतिक संरचना भएर मात्र पुग्दैन । त्यहाँबाट प्राप्त हुने सेवासुविधा, दक्ष जनशक्ति, प्रशासनिक चुस्त दुरूस्तता र सेवाग्राहीसँग गर्ने बानी व्यहोरा पनि उत्तिकै महत्व रहन्छ । अझ भन्नुपर्दा प्रभावकारी सेवासुविधा नै महत्वपूर्ण विषय हो । यी सेवासुविधा विस्तार गर्न सकेमात्र सर्वसाधरणको सेवामा पहुँच र राहत पुग्छ र नेताहरूले भने जस्तो सुखी नेपाली र समृद्ध नेपाल बन्न सक्छ ।
जीर्ण भवनको विकल्पमा ०६८ सालमा ६ करोड ५३ लाख रुपियाँको लागतमा अस्पतालको २५ कोठाको दुई तले पक्की भवन निर्माण कार्य सम्पन्न भएपनि यहाँबाट दिइने सेवासुविधा प्रभावकारी बन्न नसक्दा यसको प्रत्यक्ष मर्कामा जिल्लाबासी र छिमेकी जिल्ला भोजपुर र खोटाङका सर्वसाधारण परेका छन् ।
५ विगाहा क्षेत्रफल ओगटेको १५ सैयाको जिल्ला अस्पताल स्थापना भएको ३२ वर्षपछि २०७० सालमा तत्कालीन मन्त्रिपरिषद्को निर्णयले ५० सैयामा परिणत भएको थियो ।
क्षमता अभिवृद्धिसँगै आवश्यक जनशक्तिका लागि दरबन्दी सिर्जना गरेपनि मन्त्रालय र विभागले दक्ष प्राविधिक कर्मचारी पठाउन नसक्दा अस्पताल उपचारमा नभई भवनमा मात्र सीमित हुन पुगेको त्रियुगा नपा-११ का वडाध्यक्ष विश्वराज भट्टराई बताउँछन् ।
अस्पतालमा एक जना ११ औँ तह र १४ जना विशेषज्ञ डाक्टरसहित ५९ जनाको दरबन्दी छ । तर, अस्पतालमा यतिबेला एकै जना पनि विशेषज्ञ चिकित्सक छैनन् । अस्पताल केवल मेडिकल अधिकृत त्यो पनि अध्ययन सकेर प्राक्टिकल (सिकाई अभ्यास) गर्न आउने चिकित्सकको भरमा छ ।
दरबन्दीअनुसार अस्पतालमा प्रमुख मेडिकल अधिकृत, कन्सल्टेण्ट जनरल फिजिसियन अधिकृत, कन्सल्टेण्ट अब्स एण्ड गाइनो अधिकृत, कन्सल्टेण्ट अर्थोपेडिक सर्जन अधिकृत, पिडियाट्रिसियन अधिकृत, डेण्टल अधिकृत, सर्जन अधिकृत, साइक्याट्रिष्ट अधिकृत र मेडिकल अधिकृत आठौँ तहका विशेषज्ञ सेवाका चिकित्सक आउनु पर्ने हो तर यतिबेला यी कुनै पनि विशेषज्ञ अस्पतालमा हाजिर हुन आएका छैनन् ।
झण्डै एक वर्षअघि मेडिकल सुपरिटेण्डेण्ट डा. फडिन्द्र बराल सरूवा भई जिल्ला अस्पताल धनकुटा हाजिर हुन गएपछि सो पद खाली छ । उनी सरूवा भएर गएपछि निमित्त मेसुको जिम्मेवारी मेडिकल अधिकृत डा. विशालकुमार देवले सम्हाले पनि अन्य चिकित्सकले समकक्षी भन्दै काम प्रति खासै चासो नदिएपछि अस्पताल लथालिङ्ग अवस्थामा पुगेको व्यवस्थापन समितिका अध्यक्ष राकेश खत्री स्वीकार गर्छन् ।
उनी भन्छन्-‘मेसु पठाउन मन्त्रालय निकै प्रयास गरियो अहिलेसम्म सकिएको छैन ।’ ‘मेसु आउनसाथ धेरै समस्याको समाधान हुन्छ ।’-खत्रीले भने-‘मन्त्रालयमा पटकपटक पत्रचार गरियो वास्तै गरेन, जसले गर्दा अस्पताल व्यवस्थित गर्न सकिएन ।’
गुणस्तरीय सेवासुविधा त परै जाओस् अस्पतालमा यतिबेला सामान्य ज्वरो, रूघाखोकी, झाडापखालको पनि उपचार हुन छाडेको छ । एक हप्ताअघि ज्वरो र झाडापखाला लागेपछि बिरामी छोराको उपचारका लागि अस्पताल पुगेकी पत्रकार बन्दना दनुवार तीन दिनपछि ‘रिफर’ मागी काठमाडौँ लगेर उपचार गरिन् । टेलिफोनमार्फत उनले भनिन्-‘छोरो निको हुने आशमा गाईघाटको लामखुट्टेलाई टोकाएर तीन दिनसम्म अस्पतालमा बसेँ । छोरोको स्वास्थ्यमा परिवर्तन नआएपछि बाध्य भएर रिफर मागेँ ।’
त्यसो त उनी मात्र हैन अस्पतालमा हिजोआज आउने सबै बिरामी यसरी नै फर्कने गरेका छन् । यो समय मौसम परिवर्तनको हो । यो मौसममा अघिल्ला वर्षमा अस्पताल चाप बढेपछि भुइँमा उपचार गर्न पथ्र्यो तर अहिले जिल्ला अस्पतालमा खाली वेड छन् भएका बिरामी निजी अस्पतालमा भरिभराउ छन् ।
विशेषज्ञ सेवा र प्रभावकारी उपचार सेवा नहुँदा स्थानीय महङ्गो मुल्य तिरेर विराटनगर, धरान, काठमाडौँ धाउन बाध्य छन् । विशेषगरी प्रसूति सेवा प्रभावित हुँदा महिलाहरूमा समस्या भएको छ ।
दरबन्दीको पदपूर्ति हुन नसक्दा समस्या भएको अस्पतालका निमित्त मेसु डा. विशाल देवको भनाइ छ । उनी भन्छन्-‘दरबन्दी अनुसारको चिकित्सकको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयमा पटकपटक पत्राचार गर्दा पनि सुनुवाइ भएको छैन ।’ स्थानीय तहबाट जाने दबाव मन्त्रालयले सुनुवाइ नगरेका कारण समस्या भएको उनको भनाइ छ ।
चाहेअनुसार विशेषज्ञहरू नहुँदा बिरामीहरूले पाउनु पर्ने सेवा नै दिन नसकेको डा. देवले बताए । यसअघि दैनिक सरदर १ सय ५० बिरामी आउने गरेको अस्पतालमा चिकित्सककै अभावमा अहिले २० जना पनि आउने गरेका छैनन् । चिकित्सक अभावकै कारण धेरैजसो बिरामी उपचार नपाई फर्कने गरेको अस्पताल रहेको वडानं १० का वडाध्यक्ष प्रकाश खड्का बताउँछन् ।
केही बिरामी ऋण काटेर भएपनि निजी र जिल्ला बाहिर उपचार गर्न जाने गरेको उपचार गर्न पुगेका बिरामीका आफन्तहरू बताउँछन् ।
लगत्तै प्रसूतिका बिरामीको अप्रेशन तयार गर्न आदेश दिँदै डाक्टर तीन घण्टासम्म बेपत्ता बनेपछि बिरामी उपचारका लागि अन्यत्र लगिएको थियो । त्रियुगा नपा-९ का गीता खड्काको सामान्य प्रसूति नभएपछि डाक्टर अप्रेशनको तयारी गर्नु भन्दै फरार भएका थिए । तीन घण्टा बित्दासमेत डाक्टर नआएपछि अन्ततः बिरामीलाई आफन्तले निजी अस्पतालमा लैजान बाध्य भएको बताएका छन् ।