INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्णालीमा लैङ्गिक विभेद कायमै, छोरा जन्मे सिन्दुर जात्रा

कर्णाली प्रदेशको हिमाली जिल्लाः जुम्ला, कालिकोट, मुगु, डोल्पा र हुम्ला जिल्लमा लैङ्गिक विभेद कायमै रहेको छ । यहाँ छोरा जन्मिएपछि सिन्दुर जात्रा, भोजभतेर र रमाइलो गर्ने प्रचलन अझै कायम छ । घरमा छोरीको जन्म भएपछि यस्तो केही गरिँदैन । राज्यले लैङ्गिक विभेद गर्न नहुने भनी जनचेतना जगाएपनि यसको प्रभाव भने देखिएको छैन ।

जुम्ला पातारासी गाउँपालिका-८ हुरीगाउँकी करिश्मा बुढाले गएको आइतबार छुमचौर स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा छोरा जन्माइन् । उनका परिवार र छरछिमेकले छोरा जन्मिएपछि स्वास्थ्य चौकीमै एक अर्कालाई सिन्दुर लगाएर खुशीका साथ घर फर्किए । गाउँ समाजमा छोरा जन्मिएको ११ दिनपछि लाखौँ रकम खर्चेर भोजभतेर गरेर खुशीका साथ रमाइलो गर्ने प्रचलन छ । तर, छोरी जन्मिएपछि खुशी हुनु भन्दा पनि दुखी भएको महसुस गर्ने र सुत्केरी आमालाई पोषणयुक्त खानामा पनि ध्यान नदिने परिपाटी छ ।

त्यसैगरी गएको हप्ता डिल्लीचौर स्वास्थ्य चौकीमा पातारासी गाउँपालिका-४ लुमगाउँकी सरस्वती कामीले छोरी जन्माइन् । सरस्वती सुत्केरी भएपछि हतारहतार गर्दै घर फर्काइयो । यहाँ छोरा जन्माएपछि गरिने सुन्दर लगाउने र रमाउने दृश्य भने देखिएन । सबैका मुहार मलिन थिए ।

छोरीको पहिचान गरी भ्रुण हत्या

समाजमा छोरीको भन्दा छोराको महत्व धेरै हुन्छ भन्ने मान्यता बोक्दै अशिक्षितदेखि शिक्षित व्यक्तिहरूले भिडियो एक्सरेमार्फत छोरीको पहिचान भएपछि भु्रण हत्या गर्ने गरेको पाइएको तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया बुढाले बताइन् ।

उनले भनिन्-‘शिक्षित व्यक्तिहरूले नै यस्ता किसिमका काम गर्दै आएका छन् । पहिलो सन्तान छोरी जन्मिने बित्तिकै दोस्रो पटक सन्तान जन्माउने अधिकांश व्यक्तिले भिडियो एक्सरेमार्फ छोराछोरी पहिचान गर्ने र छोरी भएपछि भ्रुण हत्या गर्ने गरेका छन् ।’

गैरकानुनी रूपमा हुने यस्ता घटना समाजमा यत्रतत्र देखिने सुनिने भएपनि खासै यसमाथि कानुनी कारवाही भने भएको पाइँदैन ।

छोराको मोहले एकै घरमा ११ छोरीको जन्म

तिला गाउँपालिका-३ फुयालवाडाका पुसे नेपाली अहिले ६५ वर्षा भए । पुसे नेपालीले १४ वर्षो उमेरमा रिठु नेपालीसँग विवहा गरे । बिहे भएको वर्षदिन नबित्दै पहिलो सन्तानका रूपमा छोरी कमला जन्मिएको रिठु नेपालीले बताइन् । समय बित्दै जादाँ दोस्रो पटक पनि छोरी नै जन्मिइन् । छोरा नभए समाजमाले हेप्ने, मर्दा पनि दाहासस्कार गर्ने मान्छे नहुने र सम्पतिको हकदार छोरा हुनै पर्ने पुरातन सोचका कारण छोरा जन्माउनै पर्ने निष्र्कषमा नेपाली परिवार पुग्यो ।

छोरा जन्माउने आशले पुसे नेपालीका दम्पतिले अहिले ११ छोरी जन्माए । पुसेलाई अहिले लालनपालनमा निकै कष्ट भइरहेको छ । सबै छोरीलाई उपयुक्त शिक्षादिक्षा दिन उनको पारिवारिक अवस्थाले पनि पुगेन ।

पारिवारिक अवस्था निकै कमजोर भएका पुसे नेपाली छोरा पाउने आशैआशमा ११ छोरी जन्मेपछि उनले  कसैलाई उपर्युक्त लालनपालन गर्न सकेनन् । उनका ११ छोरीमध्ये पालनपोषणकै अभावमा तीन छोरीको ज्यान गयो । त्यसपछिका आठ जना छोरीमध्ये चार जनाको सानै उमेरमा विवाह  (बालविवहा) भयो । अहिले चार छोरी र पतिपत्नी घरमा छन् ।

छोराको मोहले बहुविवाह 

जुम्लामा छोराकै मोहले  बहुविवाह हुने गरेको छ । अन्य कारण भन्दा जेठी पत्नीबाट छोरा नजन्मेको खण्डमा बहुविवहा गर्ने परिपाटी निकै पाइन्छ । छोरा जन्माउनु जुम्लामा पारिवारीक तथा सामाजिक दबाव जस्तो ‘थिति’ बसेको छ ।

बहुविबाह गर्नुको औपचारिक कारण नखुले पनि अरूभन्दा जेठी पत्नीबाट छोरा नजन्मेकै कारण बहुविवाह हुने गरेको अधिकारकर्मी भगवती श्रेष्ठले बताइन् । पछिल्लो समय छोरा छोरी बराबर हुन् भन्दै बहुविवाह रोक्न विभिन्न कार्यक्रम हुने गरेपनि घटना न्यूनिकरण नभएको उनले बताइन् ।

अन्य

भिडियो