तिरहुत गाउँपालिका-५ की २५ वर्षीया रीनादेवी सदाको गर्भपतन गराएको आरोपमा प्रहरीले सोही ठाउँका ३९ वर्षीय रामरुप सदालाई फागुन २६ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले फागुन ११ गते लातले पेटमा प्रहार गरी गर्भपतन गरेको आरोप लगाउँदै पीडितले फागुन १२ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएकी थिइन् ।
पेटमा लातले हिर्काएका कारण फागुन १२ गते बिहान नौ बजे उपचारमा धरान गइरहेकी पीडितको बाटोमा नै गर्भपतन भएको पीडितले बताइन् ।
इलाका प्रहरी कार्यालय कञ्चनरुपले फागुन १२ गते नै उजुरी दर्ता गर्यो । कञ्चनरुपस्थित धर्मेश्वर अस्पतालमा स्वास्थ्य उपचार गराएकी पीडितको भ्रुणको परीक्षण फागुन १२ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भयो ।