INSEC Online

📅 २०८३ जेष्ठ २१

धुलिखेल कारागारका बन्दीहरू आन्दोलित

धुलिखेल कारागारका बन्दीहरूले नाइके र चौकीदारले बन्दीहरूलाई गरेको शोषण विरुद्ध फागुन २१ गते दिनभर नारा-जुलुस गर्दै उनीहरूलाई कारबाही गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

कारागारमा रहेका २ सय ४६ बन्दीहरूमध्ये २ सय ३९ जनाको हस्ताक्षर गरेर मूल नाइके दीपक ठकुरी र चौकीदार अर्जुन थापालगायत सात जनालाई कारबाही गर्नका लागि उनीहरूले दिनभर कारागारको ढोका बन्द गरी नारा-जुलुस गरेका थिए ।

खानालगायत बन्दीहरूले पाउने सुविधामा कैफियत गरेको भन्दै बन्दीहरूले आरोपित सात जनालाई गोलघरमा थुनेर आन्दोलनमा उत्रिएपछि स्थानीय प्रशासन, प्रहरी, मानव अधिकारकर्मी र पत्रकारहरू गएर आरोपितहरूका विषयमा छानबिन समिति बनाएर कारबाही गर्ने आश्वासन दिएपछि कारागारको ढोका खोलिएको थियो ।

बन्दीहरूले जेलको आन्तरिक प्रशासनमा भएका कमजोरीलाई २८ वटा मागको रूपमा प्रस्तुत गरेका थिए । मागहरूमा बन्दीहरूको सुविधामा कैफियतलगायत शोषण र दुर्व्यवहारका फेहरिस्ता समावेश छन् । बन्दीहरूसँग कारबाहीको सहमति भएपछि आरोपित सात जनालाई अनुसन्धानका लागि प्रहरी हिरासतमा लिएर कारागारको अवलोकन गरिएको थियो ।

साँझ बन्दीहरूसँग सहमति भएपश्चात बन्दीहरूलाई गरिएको दुर्व्यवहार र उपलव्ध गरिएका सुविधाहरूका विषयमा प्रमुख जिल्ला अधिकारी शिव सिम्खडा, एसपी सहकुल थापा र इन्सेक प्रतिनिधि भोजराज तिमल्सिनाको टोलीले कारागारको अवलोकन र बन्दीहरूको मागका विषयमा छलफल गरेको थियो ।

प्रमुख जिल्ला अधिकारीले तत्काल अधिकार सम्पन्न छानबिन समिति बनाएर बन्दीहरूको मागलाई सम्बोधन गरिने आश्वासन दिए ।

1

1

1

1

1

1

1

1

अन्य

भिडियो