डोल्पाको सदरमुकाम दुनैमा आन्दोलनकारीहरूले जिल्लामा रहेका पत्रकारहरूमाथि आक्रमण गरेका छन् । ठुलीभेरी नगरपालिकाको केन्द्र दुनैबाट जुफाल सारेको विरोधमा आन्दोलन गरिरहेका आन्दोलनकारीहरूले जिल्लामा क्रियाशील पत्रकारहरूमाथि फागुन १९ गते दिउँसो आक्रमण गरेका हुन् । आन्दोलनको प्रचारप्रसार नगरेको र नगरप्रमुख गणेशबहादुर शाहीसँग मिलेको आरोपमा पत्रकारहरूमाथि आक्रमण गरेको जनाइएको छ ।
आन्दोलनकारीको आक्रमणबाट नेपाल पत्रकार महासङ्घ डोल्पाका पूर्व अध्यक्ष तथा कान्तिपुर समाचारदाता विष्णुलाल बुढा, नेपाल पत्रकार महासङ्घ डोल्पाका कोषाध्यक्ष एवम् अन्नपूर्ण पोष्ट तथा एपिवान टिभीका जिल्ला समाचारदाता टेकबहादुर शाही र महासङ्घकै जिल्ला सदस्य रेडियो डोल्पाका समाचार प्रमुख लेखबहादुर बुढामाथि आन्दोलनकारीले सामूहिक आक्रमण गरेका हुन् ।
आन्दोलनकारीको आक्रमणबाट कान्तिपुर समाचारदाता विष्णुलाल बुढालाई चोट पुगेको जनाइएको छ । पूर्व अध्यक्ष बुढाले आफूलाई सामूहिक रूपमा लातले हानेको र आक्रमणबाट आफूलाई भित्री चोट पुगेको बताए ।
फागुन १६ गते रातिदेखि नै केन्द्र सारिएको विरोधमा आन्दोलन भएसँगै जिल्लामा रहेका सबै पत्रकारहरूले स्थानीयदेखि राष्ट्रिय सञ्चार माध्याममा समाचारहरू प्रकाशन गरेको भए पनि पत्रकारहरूले आन्दोलनको ब्बेवास्ता गरेको तथा समाचार प्रकाशन र प्रशारण नगरेको आन्दोलनकारीको आरोप छ ।
पत्रकारहरू माथि नै आक्रमण गरेपछि नेपाल पत्रकार महासङ्घले ध्यानाकार्षण गराउँदै अब आन्दोलनका कुनै पनि समचारहरू कुनै पनि सञ्चारहरूबाट प्रचारप्रसार नगर्ने जिल्लाका पत्रकाहरूको प्रतिबद्धता रहेको छ ।