INSEC Online

📅 २०८३ जेष्ठ २१

कैदीबन्दीको चाप बढेपछि पालो लगाएर सुत्नुपर्ने बाध्यता

जिल्ला कारागार सल्यानमा अहिले कैदिबन्दीहरूको चाप बढदै गएपछि पालो लगाएर सुत्नु पर्ने बाध्यता रहेको कैदीबन्दीले बताएका छन् । कारागारमा अहिले क्षमता भन्दा चार गुना बढी कैदीबन्दी भएपछि यस्तो समस्या आएको हो ।

‘हामीहरू अहिले धेरै छौँ । त्यसैले राति सुत्न पनि पाइँदैन’-७० वर्षीय कैदी लालबहादुर बुढाथोकीले भने-‘पलो लगाएर सुत्नु पर्छ । पालो कहिले दिउँसै पर्छ । कहिले राति ।’ यसरी पालो लगाएर सुत्नुपर्दा निकै कठिन हुने गरेको उनले बताए ।

३२ वर्षीय धनबहादुर बुढाले पनि यसरी पालो लगाएर सुत्नु पर्दा समस्या हुने गरेको बताए । उनले भने-‘यहाँ सुत्न समेत पालो कुर्नु पर्छ । आफ्नो पालो राती परेको बेला त केही हुँदैन तर दिउँसो सुत्न परेको बेला भने साह्रै अप्ठेरो हुन्छ ।’

जिल्ला कारागार सल्यानका जेलर विक्रम केसीले २५ जनको क्षमता रहेको कागारमा अहिले १ सय २ जना कैदीबन्दी राख्नुपर्दा पालो लगाएर सुत्नु पर्ने बाध्यता रहेको बताए । उनले भने-‘रात परेपछि ४० जना कैदी सुत्छन भने दिउँसो पनि ४०-४२ जना पालो लगाएर सुत्ने गरेका छन् ।’

अहिले कारागारमा एक बालक सहित १ सय २ जना कैदीबन्दी रहेकामा ८८ जना पुरुष र १४ जना महिला रहेको जेलर केसीले बताए । ‘हामीसँग पर्याप्त मात्रामा कोठाहरू छैन ।’-उनले भने-‘पुरुषको लागि ६ वटा कोठा रहेका छन् भने महिलाका लागि २ वटा कोठा मात्रै रहेका छन ।’

जेलर केसीका अनुसार कैदी भन्दा थुनुवाको सङ्ख्या बृद्धि हुँदै गइरहेको छ । थुनुवामा ४२ जना पुरुष र ८ जना महिला रहेका छन् । अदालतबाट फैसला हुन ढिलाइ भएका कारणले पनि यसरी थुनुवाको सङ्ख्यामा बृद्धि भएको केसीको भनाइ छ ।

‘यसरी क्षमता भन्दा बढी कैदीबन्दीका लागि राति सुत्ने समस्या भएपछि अहिले हामीले एउटा कोठामा आकाशे खाट बनाउन सुरू गरेका छौँ ।’-उनले भने-‘यस्तो  खाटमा १२ जनालाई सुताउन मिल्छ ।’ तर, पनि पालो लगाएर सुत्ने समस्या भने तत्कालका लागि रहिरहने उनले बताए ।

जेलर केसीका अनुसार कारागार जीर्ण र साँघुरो रहेको र वार्षिक रूपमा २० प्रतिशतका दरले कैदी बढी रहेका छन् । ‘यहाँ रहेका कैदीलाई सरुवा गर्दा पनि जिल्ला छोडी बाहिरको जिल्ला जान मान्दैनन् ।’-उनले भने-‘त्यसैले गाडीको सिटको क्षमता भन्दा बढी यात्रु कोचेर जस्तै गरी कोचेर राख्ने गरिएको छ ।’ जीर्ण रहेको कारागार मर्मतका लागि माथिल्लो निकायसम्म आफूले पहल गर्दा पनि कुनै वास्ता नगरेको उनको गुनासो छ ।

अन्य

भिडियो