INSEC Online

📅 २०८३ जेष्ठ २१

ढकारी र तुर्माखाँद गाउँपालिकामा औषधि अभाव

समयमै औषधि खरिद नगर्दा अछामको ढकारी र तुर्माखाँद गाउँपालिकाका स्वास्थ्य केन्द्रहरूमा औषधि अभाव भएको छ । माघभित्र स्वास्थ्य केन्द्रमा पुगिसक्नु पर्ने औषधि नपुगेका कारण ती गाउँपालिकामा रहेका बासिन्दाहरूले उपचारपछि औषधि पाउनबाट वञ्चित भएका छन् ।

ढकारी गाउँपालिकाका- ६ र तुर्माखाँद गाउँपालिकाका- ८ स्थित स्वास्थ्य संस्थामा औषधि नभएको स्थानीयले गुनासो गरेका छन् । ढकारी गाउँपालिकामा रहेको ढुङ्गाचल्ना स्वास्थ्य केन्द्रका इञ्चार्ज झङ्कर महरका अनुसार आफूले मङ्सिरमै औषधि मागेको भएपनि गाउँपालिकाले अहिलेसम्म दिएको छैन ।

सबै क्षेत्रको काम र कर्मचारी अभावका कारण औषधि खरिदमा ढिलाइ भएको ढकारी गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढाले बताए । अध्यक्ष बुढाले कर्मचारी आएपछि औषधि खरिदको प्रक्रिया अघि बढाउने बताए । तुर्माखाँद गाउँपालिकाका लेखापाल पदम कार्कीले औषधिका लागि ३ लाख रुपियाँ मात्र रहेकोले बाँकी रकम जुटाएर फागुन महिना भित्रै औषधि खरिद गर्ने बताए ।

तत्कालका लागि ती स्वास्थ्य संस्थामा अत्यावश्यक केही औषधि पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य अधिकृत झनकराज ढुङ्गानाले बताए । तत्काल औषधि खरिद गर्न गाउँपालिकासँग आफूहरूले समन्वय गरिरहेको अधिकृत ढुङ्गानाले जनाकारी गराए ।

अन्य

भिडियो