आरुघाट गाउँपालिका-२ मान्वुस्थित भवानी माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययन गर्ने सुपारे कार्कीलाई प्रध्यानाध्यापकले मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।
प्रध्यानाध्यापकले विद्यालयको बेइज्जत हुन्छ भन्दै घटना बाहिर नल्याउन दबाव दिएपनि उपचार खर्च विद्यालयले व्यहोर्ने आशामा रहेको पीडित पक्षले अन्तत काठमाडौँमा फागुन ५ गते पत्रकार बोलाएर घटनाबारे जानकारी दिएको हो ।
माघ १८ गते प्रध्यानाध्यापक काजिराम कार्कीको कुटाइबाट विद्याथीको हातको औँला सुनिएको र रगत जमेको उनका काका सुर्यबहादुर कार्कीले जानकारी दिए । विद्यालय नआएको निहुँमा प्रध्यानाध्यापकले विद्यार्थीलाई कुटपिट गरेको उनका आफन्तले बताए ।
उनको उपचार काठमाडौँको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा भर्ना गरेर अप्रेशन गरिएको छ । ‘अझै एक हप्ता हस्पिटलमै राख्नुपर्छ भनेका छन् ।’-सुर्यबहादुरले भने-‘१८ गते कुटपिटबाट हात सुन्निएपछि तातोपानी तताएर सेक्यौँ । त्यति गर्दा पनि सञ्चो नभएपछि काठमाडौँ लगेर माघ २५ गते भर्ना गरेका हौँ ।’
प्रध्यानाध्यापक काजिरामले घटना बाहिर नल्याउन दबाव दिएको पनि सुर्यबहादुरले बताए । ‘हामीले २७ गते काठमाडौँको कालिमाटी वृत्तमा उजुरी पनि दिएका छौँ । यहाँबाट गोरखाको जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउने भन्नुभएको छ,’- सुर्यबहादुरले भने ।
जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी भेषराज रिजालले कालिमाटी वृत्तबाट टेलिफोन गरी जानकारी प्राप्त भएको बताए ।
घटनाका बारेमा जानकारी लिएका काठमाडौँस्थित नयाँ पत्रिकाका पत्रकार भवानीश्वर गौतमले बालकको उपचार केहि ढिला भएको भए हातै काट्नुपर्ने अवस्था आउने भन्ने सूचना आफूले प्राप्त गरेको बताए ।
‘प्रध्यानाध्यापकले ढाडमा पिटेको तर हातमा समस्या देखिएको प्रतिक्रिया दिएका छन् ।’-पत्रकार गौतमले भने । पत्रकारसँग प्रध्यानाध्यापकले धम्क्याउने शैलिमा उपचार खर्च आफूसँग माग गरेको समेत दावी गरेको पत्रकार गौतमले बताए ।