INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्लाभरी भाइरल ज्वरोको महामारी, औषधिको अभाव

जिल्लाभरी फैलिएको भाइरल ज्वरोले महामारीको रूप लिएपछि कालिकोटमा औषधि अभाव भएको छ । १ हजार भन्दा धेरै मानिस बिरामी परे पनि औषधि र स्वास्थ्यकर्मीको अभावले उपचार हुन नसकेको स्थानीयले गुनासो गरेका छन् ।

खाडाचक्र नगरपालिकामा मात्रै १ हजार १४ जना बिरामी भेटिएका छन् । कालिकोटमा एक महिनादेखि फैलिएको भाइरल ज्वरोले अधिकांश बालबालिका, ज्येष्ठ नागरिक र महिला प्रभावित भएका छन् ।

‘गाउँमा अवस्था जटिल रहेकोले औषधि र स्वास्थ्यकर्मीको अभाव भएको हुँदा केन्द्रबाट थप गर्नुपर्ने स्थिति आएको छ ।’-जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. कौशल अलीले भने ।

भाइरल ज्वरो तथा निमोनियाबाट तीन बालकसहित पाँच जनाको मृत्यु भइसकेको छ  । बिरामीमा ज्वरो आउने, टाउको तथा मांसपेशी दुख्ने, खोकी लाग्ने लक्षण देखिएको छ ।

गाँउगाँउमा बच्चादेखि वृद्धसम्म महामारी फैलिएपनि औषधिको अभावले सबैको उपचार हुन नसकेको खाँडाचक्र नगरपालिकाका प्रमुख जसिप्रसाद पाण्डे बताउँछन् ।

उनका अनुसार खाँडाचक्र नगरपालिकाका दुई वडामा पाँच जनाको मृत्यु भएपछि स्वास्थ्यकर्मी खटाइएको छ । जिल्लाका सबै स्थानीय तहमा भाइरल ज्वरोको प्रकोप फैलिएको जानकारीमा आएपछि नियन्त्रणका लागि माघ ७ गते जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठक राखिएको निमित्त प्रजिअ राजकुमार दुलालले बताए ।

उनले स्वास्थ्यकर्मीले बिरामी पहिचान गर्ने काम भइरहेको समेत सुनाए । उनका अनुसार भाइरलको महामारी भएकाले थप स्वास्थ्यकर्मी र औषधि माग गर्न जिल्ला अस्पताललाई आवश्यक निर्देशन भएको जानकारी गराए ।

जिल्लाका नौ ओटा स्थानीय तहका स्वास्थ्य चौकीमा प्रत्येक दिन बिरामीको सङ्ख्या बढदै गएको छ । जिल्ला अस्पतालमा प्रत्येक दिन करिब ५ सय बिरामी आउने गरेका छन् भने ७ देखि १० जनालाई अस्पतालमा भर्ना गर्नु पर्ने अवस्था रहेको अस्पतालका प्रमुख अलीले बताए ।

1

1

1

अन्य

भिडियो