INSEC Online

📅 २०८३ जेष्ठ २१

द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको अवस्था तत्काल सार्वजनिक गर्न आफन्तजनको माग

सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्याक्तिका परिवारका सदस्य तथा आफन्तजनले उनीहरूको अवस्था तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी), नेपाल रेडक्रस सोसाइटी, र बेपत्ता परिवार समाज नेपालले सशस्त्र द्वन्द्वका बेला बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा भदौ १३ गते ललितपुरमा संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमका सहभागीहरूले यस्तो माग गरेका हुन् ।

शान्ति सम्झौता भएको १० वर्षबितिसक्दा पनि बेपत्ता व्यक्तिको अवस्था सार्वजनिक नहुनुले राज्य प्रतिको आफूहरूको विश्वास गुमिसकेको भन्दै पीडित परिवारका सदस्यले यथासक्य चाँडो अवस्था सार्वजनिक गर्न र परिपुरणको व्यवस्था गर्न पनि माग गरेका छन् ।

कार्यक्रममा आइसीआरसी नेपाल नियोग प्रमुख आन्द्रे पाकेले बेपता व्याक्तिका परिवारहरूको पीडामा ऐक्यवद्धता जनाउन कार्यक्रमको आयोजना गरिएको बताए । बेपत्ता पारिएका व्याक्तिको छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले द्वन्द्वका बखत बेपत्ता पारिएका सन्दर्भमा न्यायको माग गर्दै आयोगमा २ हजार ८ सय ४६ ओटा उजुरी परेको बताए ।

उनले २ हजार ८ सय ४६ ओटा उजुरी परेको भएपनि अहिलेसम्म २ हजार ८ सय ७० जना बेपत्ता भएको जानकारी प्राप्त भएको जनाउँदै सो घटनाको प्रारम्भिक छानबिन भइरहेको र दशैँ अघि छानबिन कार्य सम्पन्न गरीसक्ने लक्ष्य रहेको बताए ।

यसैगरी बेपत्ता परिवार समाज नेपालका अध्यक्ष रामकुमार भण्डारीले तत्कालीन राज्य र विद्रोही जुनसुकै पक्षबाट बेपत्ता पारिएको भए पनि उनीहरूका परिवारको पीडा समान रहेको बताए । उनले पीडा समान भएपनि विभेदपूर्ण व्यावहार गरिएको तथा परिपुरणको नीति बने पनि कार्यन्वयन हुन नसकेको भन्दै असन्तुष्टी जनाए ।

कार्यक्रममा ‘अन्तिम बिदाई’ नामक वृतचित्र प्रदर्शन गरिएको थियो । वृतचित्रमा युद्धका बेला बेपत्ता पारिएकी आफ्नी छोरी अन्तिम पटक देखिएको स्थान सम्मको यात्रा तय गरेकी एक आमाको कथाका साथै बेपत्ता परिवारको पीडालाई भावनात्मक ढङ्गले उतारिएको छ । सो अवसरमा ‘बेपत्ताका सम्झनामा’ नामक तस्वीर पुस्तिकासमेत सार्वजनिक गरिएको थियो ।

अन्य

भिडियो