INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अङ्ग बेचबिखन घटनाका आरोपितहरू गिरफ्‌तार

नेपालका विभिन्न जिल्लाहरुका ग्रामीण बस्तीहरुबाट मानव तस्करहरुले मानिसहरुलाई प्रलोभनमा पारी भारतको विभिन्न शहरहरुमा लगि अवैध रुपले मानव अङ्ग मृगौला (किट्नी) झिकेर बिक्री गरेको समाचारहरु प्रकाशित भएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्यूरोले ०८२ भदौ १५ गते प्रकाशित प्रेस विज्ञप्ती अनुसार अवैध रुपमा मानव अङ्ग मृगौला भिक्ने कार्यमा संलग्न रहेको आरोपमा राकेश नेपाली, समिर नेपाली र राजकुमार नेपालीलाई ०८२ साउन २० गते प्रहरीले गिरफ्तार गरेको थियो ।

मृगौला पीडितहरुको उजुरी तथा सूचना र गिरफ्तार गरिएका तीन जनाको बयानको आधारमा मिगौलाको व्यापार गर्नेहरुको मुख्य व्यक्तिको रुपमा परिचित रहेका सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका—७ थुम्पाखरका ३८ वर्षीय श्यामकृष्ण भण्डारी र इन्द्रावती गाउँपालिका— २ कुन्चोकका २९ वर्षीय सुजन भारतीलाई प्रहरीले गिरफ्तार गरेको छ । श्यामकृष्ण भण्डारीलाई कञ्चनपुर जिल्लाको गड्डा प्रहरी चौकीको सीमानाबाट र सुजन भारतीलाई पर्सा जिल्लाको बिरगञ्ज स्थित सीमानाकाबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ । त्यसैगरी मृगौला दाता सङ्कलन गर्ने सविन पन्त र राजकुमार तमाङलाई पनि ०८२ भदौ १५ गते काठमाडौँबाट प्रहरीले गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले गिरफ्तार गरेका आरोपितहरुले सिन्धुपाल्चोक, सिन्धुली, काभ्रे, नुवाकोट लगायत जिल्लाबाट मानव बेचविखनको उद्देश्यले मानिसलाई प्रलोभनमा पारी भारतको नयाँ दिल्लीमा लगेर गैरकानुनी रुपमा मृगौला झिक्ने गरेको आरोप छ ।

प्रहरीले गिरफ्तार गरेका श्यामकृष्ण भण्डारी र सुजन भारती नयाँ दिल्ली स्थित लाजपत नगरमा अस्थायी रुपमा बस्दै आएका थिए । नेपालबाट मृगौला दाता दिल्ली पुर्‍याएपछि उनीहरुले प्रतिव्यक्ति ९ लाख ४० हजार रुपियाँमा मृगौलाको रकम लिने गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । तर मृगौला दाताहरुलाई भने ५ हजार रुपियाँ दिएर नेपाल फर्काउने गरेका थिए ।

चार जना पीडितहरुले प्रहरीलाई दिएको बयान अनुसार एउटा मृगौला दिँदैमा मानिस नमर्ने र एक जनालाई ६ लाख रुपियाँ दिने भन्दै आरोपितले फकाउने गरेका थिए । त्यसैगरी मृगौला दिन तयार हुनेहरुलाई गाडीको व्यवस्था गरी दिल्लीसम्म पुर्‍याउने र मृगौला झिकेर पुनः गाडी मार्फत नेपाल ल्याइदिने गरेका थिए । मृगौला दिन दिल्ली पुर्‍याएका व्यक्तिहरुलाई होटलमा छुट्टा छुट्टै राख्ने गरेको र होटलबाट निकाली आँखामा पट्टीबाँधी गाडिमा राखि अज्ञात स्थलमा लगेर इञ्जेक्सन लगाएर बेहोस बनाइ मृगौला झिक्ने गरेको पीडितले बताएका छन् । मृगौला झिकेको चार दिनसम्म अस्पतालमा राख्ने गरेको र त्यसपछि गाडीमा राखी पुनः नेपाल पठाउने गरेको भनाइ छ ।

मृगौला ब्यापारको आरोपमा श्यामकृष्ण भण्डारीले प्रहरीलाई दिएको बयान अनुसार सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट लगायतका ग्रामीण भेगका व्यक्तिहरुलाई भारतको ग्रेटर नोयडा स्थित यथार्थ अस्पताल र त्यही शहरको विभिन्न क्लिनिकका कर्मचारी तथा एजेण्टसँग समन्वय गरी २५ जना व्यक्तिको मृगौला झिक्न लगाई पैसा लिएको खुलेको प्रहरी ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले विज्ञप्ती मार्फत बताउनु भएको छ ।

नेपालमा सबैभन्दा बढी मृगौला बेचविखनबाट प्रभावित भएकाहरुमा सिन्धुपाल्चोक जिल्लाको सुनकोशी, इन्द्रावती गाउँपालिका भित्रका गरिब परिवारका ब्यक्तिहरु रहेका छन् । त्यसैगरी काभ्रे जिल्लाको पाँचखाल नगरपालिका भित्रको विभिन्न वडाहरुका व्यक्तिहरु प्रभावित रहेको तत्थ्यहरुमा खुलेको छ । गरिवीको फाइदा उठाउदै झुक्याएर मृगौला बेचविखन गर्न बाध्य बनाउने र पहिला मृगौला बेच्ने केही व्यक्ति नै पछि गएर दलाल बन्ने गरेको तत्थ्यले पुष्टी गरेको छ ।

मृगौला बिक्री गर्ने दलालीको सञ्जाल गाउँदेखि काठमाडौँसम्म र काठमाडौँदेखि भारतको नयाँ दिल्ली शहरसम्म हुने गरेको देखिएको छ । शहरमा बसेर सिन्धुपाल्चोक जिल्लाको ग्रामीण बस्तीहरुलाई दलालहरुले मृगौला बेचविखनको बजारको रुपमा लिने गरेका छन् । खासगरी सीमान्तकृत र गरिब विपन्न परिवारमा दलालहरुले प्रवेश गरेको पाइन्छ ।
मृगौला बेचविखनबाट पीडित भएकाहरु मानसिक आघात व्यहोरिरहेका छन् । मानसिक आघातले मृगौला पीडित आफूलाई एक्लो र बिरानो ठान्दछन् । दालालहरुले दिन्छु भनेर बाचा गरेको रकम आफूले नपाउँदा र शरिरको अङ्ग बेचेर पनि आर्थिक अवस्था सुधार नहुँदा पश्चातापमा परेको देखिन्छ ।

नेपालको संविधान २०७२ भाग ३ को मौलिक हक र कर्तब्य सम्वन्धमा, धारा २९ को शोषणबिरुद्ध हक अनुसार मानिसलाई बेचविखन गर्न, दास बनाउन र इच्छाविरुद्ध काममा लगाउन पाइदैन । संविधानको मौलिक हक र कर्तव्यको धारा ३९ अनुसार कुनै पनि बालवालिकाहरुलाई गैरकानुनी ओसारपसार वा बन्धक राख्न पाइने छैन ।
मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ ले अङ्ग बेचविखनलाई पनि मानव बेचविखनको रुपमा लिएको छ । ऐनको दफा १५ (१) ‘ग’ अनुसार प्रचलित कानुन बमोजिम बाहेक मानिसको अङ्ग झिक्नेलाई १० वर्ष कैद र दुइलाख देखि ५ लाख रुपियाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।

मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन कार्यान्वयनमा आएको १८ वर्ष पुरा हुनलाग्दा पनि मृगौला बेचविखनका सबै आरोपितहरु कनुनी दायरामा आउन सकेका छैनन् ।

अन्य

भिडियो