वर्षाको कारण पहिरोले बाटो अवरुद्ध हुँदा जुगल गाउँपालिका भित्रका बिरामीहरुलाई एम्बुलेन्सबाट अस्पताल लैजान समस्या भएको छ ।
जुगल गाउँपालिका जाने पिज बाटो ०८२ भदौ १४ गतेको वर्षाले बलेफी गाउँपालिका— १ खमारेमा पहिरो गएपछि अवरुद्ध भएको हो ।
बाटो खुलाउनु पर्ने माग सहित आफूले प्रदेश सभामा कुरा उठाएपनि अवरुद्ध बाटो खुलाउन सरकारको तर्फबाट पहल नभएको क्षेत्र नं. १ का प्रदेश सभा (ख) का सांसद सरल सहयात्रीले बताउनुभयो ।
अवरुद्ध बाटो सुचारु नहुँदा जुगल गाउँपालिका भित्रका बिरामीहरु जलविरे अस्पतालमा उपचारका लागि लैजान समस्या भएको जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले बताउनुभयो । उहाँका अनुसार पहिरो गएको ठाउँ ठूलो भएकोले पालिकाको बजेटबाट खर्च गर्न गाह्रो भएको हो ।
पाँच दिनदेखि अवरुद्ध भएको बाटो खुल्न नसक्दा जुगल गाउँपालिका भित्र यातायातको साधन मार्फत खाद्यान्नका सामान लैजान मात्र होइन बिरामी बोकेर एम्वुलेस अस्पताल पुग्न समेत समस्या भएको जुगल गाउँपालिका— ५ का वडा अध्यक्ष रबिन्द्र घिमिरेले बताउनु भयो ।