INSEC Online

📅 २०८३ जेष्ठ २१

भीमफेदी कारागारमा झडप हुँदा ६ जना घाइते

क्षेत्रीय कारागार भीमफेदी ‘ख’ ब्लकका बन्दीहरूबिच पुस १३ गते झडप भएको छ । झडपमा परी ६ जना बन्दी घाइते भएका छन् ।

घाइतेहरूको उपचार हेटौँडास्थित अस्पतालमा भइरहेको छ । घाइतेमध्ये दिव्य श्रेष्ठको अवस्था गम्भीर रहेको छ । उनको उपचार चुरेहिल अस्पतालमा भइरहेको छ । अन्य पाँच जनाको उपचार हेटौँडा अस्पतालमा भइरहेको छ ।

चौकीदार रमेशकुमार लामा पक्ष र उनको विपक्षमा रहेका बन्दीहरूबिच झगडा भएको जेल प्रशासनले जनाएको छ । चौकीदार लामा पक्षले जेल भित्रको पसलमा शोषण गरेको, बन्दीहरूलाई बोल्न नदिएको, आफनो पक्षलाई मात्र नाइके, भाइ नाइकेहरूमा भर्ती गरेको भन्दै अधिकांश बन्दीहरू रूष्ट रहेका थिए ।

पुस १३ गते दिउँसो १२ बजे चौकीदार लामालगायतले जेल भित्रको कोठाको चेकिङ् गरिरहेको  अवस्थामा दुई पक्षबिच झडप भएको थियो । चौकीदार लामा पक्षले ६ जना बन्दीहरूलाई दाउरा र चिर्पटले हिर्काएर घाइते बनाएको अर्को पक्षले आरोप लगाएको छ ।

‘ख’ ब्लकमा दुई पक्षबिच झडप भएर ६ जना घाइते भएको जेलर चिरञ्जिवी थापाले बताए । ‘घाइतेहरूलाई उपचार गर्न हेटौँडामा लगिएको छ ।’-उनले भने ।

‘ख’ ब्लक २ महिनादेखि सञ्चालनमा ल्याएको हो । उक्त ब्लकमा ३ सय ७१ जना कैदीबन्दीहरू राखिएको छ ।

अन्य

भिडियो