स्वास्थ्य क्षेत्र सबैभन्दा बढी सम्वेदनशील मानिन्छ । उपचारका लागि आएका बिरामीले १ सेकेण्ड उपचार पाएनन् भने ज्यानै जान सक्छ । त्यसकारण पनि यो क्षेत्र सम्वेदनशील मानिएको हो ।
यसै शिलशिलामा पुस ११ गते बेलुका उदयपुरको जिल्ला अस्पतालमा यस्तै दृष्य देखियो । जुन लापरबाहीको पराकाष्ट हो । पुस ११ गते दिउँसो रौतामाई गाउँपालिका-६ मा दुर्घटनामा परी घाइते भएका तीन जना बिरामीलाई उपचार गर्न अस्पताल ल्याइँदा एकै जना चिकित्सक पनि भेटिएनन् ।
उपचारका लागि आकस्मिक कक्षमा राखिएका बिरामीको उपचारमा कुनै चिकित्सक नआएपछि जिल्ला प्रहरी कार्यालयबाट अस्पताल सुरक्षार्थ खटिएका प्रहरी हवल्दार अहेव सुरेन्द्र लम्सालले प्राथामिक उपचार गरे । कोही चिकित्सक नदेखिएपछि टुलुटुलु हेर्नुभन्दा आफुले जानेको सिप प्रयोग गरेको लम्सालले बताए ।
उनले भने-‘एकछिन हेरेँ कोही पनि आएनन् । बिरामी बचाउने मेरो पनि दायित्व भएकाले टुलुटुलु हेर्न सकिनँ । प्राथामिक उपचार गरी सुबिधायुक्त अस्पताल पठाएँ ।’ लम्सालले सामान्य उपचार गरिसकेपछि अस्पतालका हेल्थ असिष्टेण्ट श्यामनारायण चौधरी पुगेका थिए । बिरामी अस्पतालमा ल्याएपछि आकस्मिक कक्षमा खटिएका कर्मचारीले तत्काल डा. अमित मिश्रलाई खबर गरेका थिए । तर, मिश्र खबरको बेवास्ता गरी क्वाटरमा चाबि लगाई उपचारमा जानुको साटो बेपत्ता बनेको बताइएको छ ।
चिकित्सक अभावसम्बन्धी अस्पताल हाताभित्र खैलाबैला सुरू भएपछि प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज भट्ट, सशस्त्र प्रहरी त्रियुगा गुल्मका गुल्मपति डिएसपी पूर्णचन्द्र भट्ट र पत्रकारको टोली अस्पताल पुगेको थियो ।
सिडिओलगायत सरोकारवालहरू अस्पतालमा पुग्दासमेत त्यो हविगत देखिएपछि उपचारमा आएका बिरामी र अन्य बिरामीका आफन्तले केहिबेर घेरेका थिए । प्रजिअले डा. मिश्रलाई खोज्दासमेत ‘बेपत्ता’ बनेपछि माहोल अझ तातेको थियो ।
लगत्तै प्रजिअले अस्पतालको निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. विशालकुमार देव, जनस्वास्थ्य प्रमुख सागर प्रर्साई, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राकेश खत्री, प्रशासन प्रमुख बिर्ख खत्रीसँग टेलिफोनमार्फत जानकारी लिएका थिए ।
१७ जना दरबन्दी रहेको अस्पतालमा हाल चार जना कार्यरत रहेका छन् । चार जनामध्ये पनि निमित्त प्रमुख देव र डा. विजयकुमार मेहेतालाई जनस्वास्थ्य प्रमुख प्रर्साईले सुनकोसी गाउँपालिकाको बाराहमा आयोजित बन्ध्याकरण शिविरमा लगेको र बाँकी दुई जना अस्पतालमा रहेको प्रशासन प्रमुख खत्रीले जानकारी दिए ।
उनका अनुसार डा. अमिताभ ठाकुरले प्रसुतिसम्बन्धी हेर्ने भएकाले आकस्मिक कक्षमा नआाएको बताए । आकस्मिक कक्षमै खटिएका डा. अमित मिश्र भने के कारणले नआएको भन्ने जानकारी नभएको बताए । उनले भने-‘दिउँसो एउटा शवको पोष्टमार्टम रिपोर्टमा सही गर्न आग्रह गर्दा आफू निमित्त नभएकाले सही नगर्ने भन्दै फायल फर्काए, डा. को सन्कि स्वभावले काम नभएको हो ।’
अस्पतालका अध्यक्ष राकेश खत्रीले व्यवस्थापन सुधारका लागि कोशिस गर्दा डा. मिश्रले असहयोग गरेको आरोप लगाए । अन्य डा. र कर्मचारीलाई उचालेर पुरै असहयोग गरेको उनको आरोप छ । अस्पतालमा समस्या देखिएपछि तत्काल पुगेका अध्यक्ष खत्रीले आकस्मिक कक्षमा नै पुगी डा. मिश्रलाई आफूलाई नसोधी हाजिर गर्न नदिन कर्मचारीलाई चेतावनी दिए ।
चिकित्सकको यस्तो लापरबाहीपूर्ण व्यवहारले अस्पताल आएका बिरामीहरू थप मर्कामा पर्ने देखिन्छ । अस्पतालकाका मेडिकल सुपरिटेण्डेण्ट डा. फडिन्द्र बराल सरूवा भई गएपछि अस्पतालमा बेथिति सुरू भएको स्वयम् कर्मचारी नै बताउँछन् ।