सन्धिखर्क नगरपालिका-१२ की २८ वर्षीया गीता मुखियाले दायाँ हात भाँचिने गरि कुटपिट गरेको आरोपमा ३८ वर्षीय पति रामबहादुर मुखियाविरूद्ध इन्सेकको सहयोगमा पुस ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

पतिले बारम्बार मादक पदार्थ सेवन गरी कुटपिट गर्ने तथा घर निकाल गर्ने गरेको पीडित महिलाले बताइन् ।
‘पुस ९ गते राति मादक पदार्थ सेवन गरी घरमा आएर कुटपिट गर्नुभयो । हस्पिटलमा उपचार गराउने कोहि मान्छे थिएनन् । इन्सेकको सहयोगमा जिल्ला अस्पतालमा उपचार गरियो ।’-उनले भनिन् ।

पीडित महिलाले उजुरी दिएपछि प्रहरीले पतिलाई गरिफ्तार गर्नको लागि खोजतलास गरिरहेको जनाएको छ । पत्नीले प्रहरीमा उजुरी गरेपछि पति फरार भएको जनाइएको छ । आरोपितलाई गिरफ्तार गरी कानुन अनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदीपकुमार डिसीले जानकरी दिए ।
पीडित महिलाले पुस १० गते सहयोग गर्न भनि इन्सेकलाई निवेदन दिएकी थिइन् । निवेदनपछि इन्सेक प्रतिनिधि नारायण भुसालले उपचार र प्रहरीमा निवेदन दर्ता गरी कानुनी प्रक्रियाको लागि सहयोग गरेका थिए ।