INSEC Online

📅 २०८३ जेष्ठ २१

घटनामा संलग्न प्रहरीलाई कारबाही नभएसम्म पीडित परिवारले शव नबुझ्ने

प्रहरीको गोली लागि चार दिनअघि मृत्यु भएका रास्कोट नपा-२ का म्यादी प्रहरी विवेक ऐडीका परिवारले घटनामा संलग्न प्रहरीलाई कारबाही र उचित राहत नपाएसम्म मृतकको शव नबुझ्ने बताएका छन् ।

“जब मेरो भाइको टाउकोमा गोली हान्ने र आदेश दिनेलाई कारबाही हुँदैन तबसम्म आन्दोलन जारी राख्छौँ र शव पनि बुझ्ने छैनौँ ।”-मृतकका दाजु वीरेन्द्र ऐडीले भने ।

पीडित पक्षले गृह मन्त्रालयका सह-सचिव मानबहादुर बिकको संयोजकत्वमा गठित घटना छानबिन समिति, राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको संयुक्त बैठकले चार बुँदे निर्णयषछि शवको पोष्टमार्टम गर्न भने सहमति दिएको छ ।

पुस १० गते जिल्ला प्रशासनमा बसेको बैठकले मृतकलाई सहीद घोषणाको लागि पहल गर्ने, परिवारलाई राहत उपलव्ध गराउन पहल गर्ने र छानबिनपछि दोषी ठहरिएमा घटनामा संलग्नलाई कारबाही गर्ने निर्णय भएपछि पुस ११ गते शवको पोष्टमार्टम भएको छ ।

गृह मन्त्रालयका सहसचिव मानबहादुर बिकको संयोजकत्वमा नेपाल प्रहरीका डिआइजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआइजी प्रविण श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका डिआइजी लक्ष्मण गुरुङसहितको टोली घटना छानबिनका लागि कालिकोट पुगेर विभिन्न सरोकारवालासँग छलफल गरिरहेको छ ।

आफूले पाउने तलब सुविधा कटौती गरेको भन्दै म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले गोली चलाउँदा २५ वर्षीय म्यादी प्रहरी ऐडीको पुस ७ गते मृत्यु भएको हो ।

पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, मृतकलाई सहीद घोषणा, गोली चलाउने र आदेश दिनेलाई कारबाहीको माग गर्दै मृतकका परिवार तथा आफन्तले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइरहेका छन् ।

आन्दोलनकारीका केही मागहरूको सम्बोधन भइसकेको बताउँदै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले केही माग प्रक्रियामा ढिला हुने भएकाले मृतकका आफन्तले शव बुझेर आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् ।

अन्य

भिडियो