इटहरी उपमहानगरपालिका-२ का २० वर्षीय युवराज निरौलाको प्रहरी हिरासतमा हत्या भएको पीडित पक्षले आरोप लगाएको छ ।
इलाका प्रहरी कार्यालय, धरानको हिरासतमा ०८२ साउन ९ गते प्रहरीको निर्घात कुटपिटबाट युवराजको मृत्यु भएको पीडित पक्षको आरोप छ ।
युवराजलाई तीनकुने प्रहरी चौकी, धरानले साउन ८ गते लागू औषधसहित गिरफ्तार गरेको थियो । प्रहरीले हिरासतमा राखेको अवस्थामा साउन ९ गते निर्घात कुटपिट गरी हत्या गरेको मृतकका छिमेकी खगेन्द्र सुवेदीले बताउनु भयो ।
प्रहरी हिरासतमा राखिएको सूचना प्रहरीले ढिलो गरी दिएको र सूचना दिँदा तपाईको मान्छेको अवस्था गम्भीर छ, तत्काल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपा आउनु भनेर बोलाएको मृतक भाइ सन्तोष निरौलाले बताउनु भयो ।
प्रहरीले खबर दिएपछि साउन १० गते विहान २ बजे वीपी पुग्दा दाइको टाउकोबाट रगत बगिरहेको र दाई अचेत अवस्थामा रहेको मृतक भाइ सन्तोष निरौलाले बताउनु भयो ।
वीपीका चिकित्सकले साउन १० गते विहान २ बजेपछि दाईलाई विराट नर्सिङ, विराटनगर रेफर गरिदिएको र त्यहाँ पनि चिकित्सकले उपचार सम्भव नहुने भनि विराट टिचिङ रेफर गरिदिएको सन्तोष निरौलाले बताउनु भयो ।
विराट टिचिङ्गले बिरामीको टाउकोको भित्री भागमा रगत जमेको र रगतमा समेत सङ्क्रमण फैलिएकाले उपचार नहुने भन्दै कोशी अस्पताल रिफर गरिदिएको मृतक भाइ सन्तोषले बताउनु भयो ।
कोशी अस्पतालमा उपचारका क्रममा साउन ११ गते मृत्युपछि पीडित पक्षले साउन १२ गते इलाका प्रहरी कार्यालय, धरान घेराउ गरेको थियो ।
मृतकका साथी उदयपुर, वेलका नगरपालिका-३ का २२ वर्षीय दीपक कटुवालले साउन ८ गते प्रहरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको र आठ हजार रुपियाँ घुस माग्दा युवराजसँग पैसा नभएपछि प्रहरीले निर्घात कुटपिट गरेको जानकारी दिएको मृतका भाइ सन्तोष निरौलाले बताउनु भयो । प्रहरीले कटुवाललाई जथाभावी बोलेको भन्दै नियन्त्रणमा समेत राखेको सन्तोष निरौलाको भनाइ छ ।
इलाका प्रहरी कार्यालय, धरानका डिएसपी वेदप्रकाश जवेगुले प्रहरीले युवराज निरौलालाई साउन ८ गते प्रतिवन्धित लागू औषधसहित तीनकुने क्षेत्रबाट गिरफ्तार गर्ने क्रममा आरोपित भाग्न खोजेको र सोही बेला लडेर गम्भीर घाइते भएको बताउनु भयो ।
प्रहरीबाट भाग्ने क्रममा लडेर टाउको गम्भीर चोट लागेका युवराजको उपचारका क्रममा मृत्यु भएको तर, पीडित परिवारले भने जस्तो प्रहरी हिरासतमा यातनाका कारण युवराजको मृत्यु नभएको बताउनु भयो ।
पीडित पक्षले साउन १२ गते इलाका प्रहरी कार्यालय, धरान घेराऊ गरी शव नबुझ्ने अडान राखेपछि डिएसपी जवेगुले घटनाको निष्पक्ष छानविन गर्ने र दोषी पाइएमा प्रहरीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपछि पीडित परिवारले शव बुझेको छ ।
पीडित परिवारले साउन १२ गते शव बुझी इटहरी उपमहानगरपालिका-४ स्थित घाटमा सद्गत गरेको छ ।