INSEC Online

📅 २०८३ जेष्ठ २१

म्यादी प्रहरीको हत्या सम्बन्धमा उच्चस्तरीय छनबिन सुरू

प्रहरीले चलाएको गोलीबाट मृत्यु भएका रास्कोट नपा-२ का विवेक ऐडीको हत्या भएको घटना सम्बन्धमा गठित छनबिन समितिले पुस १० गते जिल्ला सदरमुकाम पुगी अनुसन्धान कार्य सुरू गरेको जनाएको छ ।

गृह मन्त्रालयका सहसचिव मानबहादुर बिकको संयोजकत्वमा नेपाल प्रहरीका डिआइजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआइजी प्रविण श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका डिआइजी लक्ष्मण गुरूङसहितको टोली घटना छानबिनका लागि कालिकोट पुगेको हो । टोलीले प्रारम्भिक चरणमा पीडित पक्षसँग छलफल गरिरहेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले बताए ।

आफूले पाउने तलब सुविधा कटौती गरेको भन्दै म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले गोली चलाउँदा २५ वर्षीय म्यादी प्रहरी विवेक ऐडीको पुस ७ गते मृत्यु भएको थियो । म्यादी प्रहरी, मृतकका आफन्त र स्थानीयबासीले परिवारलाई क्षतिपूर्ति दिनु पर्ने, मृतकलाई सहीद घोषणा, गोली चलाउने र आदेश दिनेलाई कारबाहीको माग गर्दै लगातार आन्दोलन गर्दै आएका छन् ।

आन्दोलनबाट जिल्लामा शान्ति सुरक्षामा खलल् पुग्ने भन्दै स्थानीय प्रशासनले सोही दिनबाट सदरमुकाम क्षेत्रमा कर्फ्यू लगाउँदै आएको थियो । छानबिन टोली पुगेपछि कर्फ्यू हटाइएको प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।

अन्य

भिडियो