INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिरोका कारण दुई ओटा घरमा क्षति, पाँच परिवार विस्थापित

कोशी प्रदेशमा ०८२ जेठ १६ गतेदेखि भित्रिएको मनसुन हिमाली जिल्लामा सक्रिय हुँदा भौतिक संरचनामा क्षति पुगेको छ ।

वर्षापछिको बाढीपहिरोका कारण सङ्खुवासभा र ताप्लेजुङमा भौतिक संरचनामा क्षति पुगेको छ ।

मानव अधिकारकर्मी भविन कार्कीका अनुसार हिमाली जिल्ला सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोलामा पहिरोबाट दुई ओटा घरमा क्षति पुगेको छ । पहिरोका कारण पाँच परिवार विस्थापित हुनु परेको छ ।

भोटखोला गाउँपालिका-४ जिजिङ्ग्खामा ०८२ साउन ६ गतेको पहिरोले दुई घरमा क्षति पुगेको छ । घर माथिबाट आएको पहिरोले भोटखोला गाउँपालिका-४ जिजिङ्ग्खाका सागर राईको घर पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताउनु भयो । पहिरोले सोही ठाउँका मुस्कान शेर्पाको घरमा समेत क्षति  पुगेको छ ।

 पहिरोका कारण भोटखोला गाउँपालिका-४ जिजिङ्ग्खा गाउँका पाँच परिवार पहिरोको उच्च जोखिममा परेको डिएसपी बस्नेतले बताउनु भयो । घर माथिबाट आएको ठूलो ढुङ्गा सहितका माटोको ढिस्कोले भोटखोला गाउँपालिका -४ का लिला बहादुर श्रेष्ठ, लाम्साङ शेर्पा, सुब्बा श्रेष्ठ, मुस्कान शेर्पा र रञ्जना श्रेष्ठको परिवार विस्थापित भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटले बताउनु भयो ।

पहिरोका कारण पाँच घर उच्च जोमिममा परेका छन् । पहिरोबाट विस्थापितलाई सुरक्षति स्थानमा सारिएको गाउँपालिका अध्यक्ष भोटले बताउनु भएको छ ।

Photo 20250723 Sangkhuwasabha

मानव अधिकारकर्मी एलिना दियालीका अनुसार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ स्थित हेल्लोक खोलाको बेलिब्रिज बाढीले बगाएपछि एम्बुलेन्सलगायतका सवारी साधन आवतजावत नहुँदा बिरामीसहित सर्वसाधारणले दुख पाएका छन् । ०८२ साउन ६ गते रातिको भारी वर्षासँगै आएको बाढीले बेलिब्रिज बगाएपछि आवतजावतमा समस्या भएको हो ।

वर्षासँगै खोलामा आएको बाढीले फक्ताङलुङ गाउँपालिका-५ र ६ जोड्ने बेलिब्रिज बगाउँदा आवत जावत बन्द भएसँगै एम्बुलेन्सलगायतका सवारी साधन सञ्चालन नहुँदा बिरामी र सर्वसाधारणले दुख पाएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले बताउनु भयो । बेलिव्रिज हुँदा फक्ताङलुङ गाउँपालिका-५ तापेथोक र ६ लेलेप हुँदै सो भन्दा माथि ओलाङचुङगोला, घुन्सासहितका क्षेत्रमा आवतजावत सहज  थियो । फक्ताङलुङ गाउँपालिका-६ लेलेपमा रहेको फाङ्बारी विद्यालय नजिकैबाट पहिरो झरेका कारण विद्यालय भवन पहिरोको उच्च जोखिममा परेको छ ।

photo 20250723 taplejung

अन्य

भिडियो