१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिरहा जिल्ला लहान नगरपालिका–१ घर भई सुरुङ्गा नगरपालिका–५ स्थित श्री मसिलाल जनता मावि कुशहामा कार्यरत शिक्षक ३५ वर्षीय सन्तोष पजियारलाई प्रहरीले ०८२ साउन २ गते गिरफ्तार गरेको छ ।
आरोपित शिक्षकले बालिकालाई असार ३१ गते विद्यालयमा परीक्षा दिइरहेको समयमा अनुचित व्यवहार गरेको प्रहरीले जनाएको छ ।
परीक्षामा नबुझेको प्रश्न सोध्दा आरोपित शिक्षकले दुव्र्यवहार गरेको बालिकाले बताइन् । बालिका परीक्षा हलबाट बाहिरिएलगतै अन्य शिक्षकहरुलाई घटनाबारे बताउँदा समेत कसैले वास्ता नगरेको उनले दुःखेसो पोखिन् । घरमा गएर आमा बुवालाई घटना बारे बताएपछि घटना सार्वजनिक भएको थियो ।
आरोपित शिक्षकविरुद्ध पीडित पक्षले साउन १ गते इलाका प्रहरी कार्यालय कडरवोनामा उजुरी गरेका छन् ।
प्रहरीले आरोपित शिक्षकलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम केसीले बताउनु भयो ।