कृषि हाटबजारका लागि निर्माण गरिएका संरचनाहरु सञ्चालन नगरिदा साना किसानहरु मर्कामा परेका छन् । प्रदेश सरकारले जिल्लाको बिभिन्न स्थानमा कृषि हाटबजारको लागि संरचना निर्माण गरिएको भए पनि सात वर्ष बितिसम्दा समेत सञ्चालनमा नआउदा किसान समस्यामा परेका हुन् ।
धनगढी उपमहानगरपालिका–८ मा निर्माण गरिएको हाटबजार सञ्चालन नहुँदा तरकारी सस्तो मुल्यमा बेच्नु पर्ने र साईकलमा तरकारी बोकेर टोलटोलमा बेच्न जानु पर्ने बाध्यता रहेको स्थानीय कृषक जगनी चौधरीले गुनासो गर्नु भयो । १० कठ्ठामा तरकारी खेती गर्दौ आएको भए पनि अहिलेसम्म लगानी अनुसार उचित मुल्यमा कहिल्यै तरकारी बेच्न नपाएको उहाँको भनाइ छ ।

स्थानीय कृषक रामदुलारी रानाले कृषि हाटबाजार सञ्चालनमा नआउदा बारीमा उत्पादन गरेको तरकारी टोकरीमा बोकेर टाँढाटाँढासम्म गएर पनि सस्तो मुल्यमा बेच्नु पर्ने बाध्यता रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो– ‘हाटवजार संचालनमा आएको भए उचित मुल्यमा व्यापार गर्न सकिन्थ्यो । हामीलाई उत्पादन गरेका तरकारी बेच्नकै लागि सास्ती खेप्नु पर्ने थिएन् ।’
धानगढी उपमहानगरपालिकाको सबै वडामा हाटबजार संञ्चालन गर्दा किसान र उपभोक्ता सबैलाई सजिलो हुने स्थानीय कृषक रङ्गो रानाले बताउनु भयो ।
गाउँ धनगढीमा निमांण गरिएको हाटबजार संञ्चालन नगरिदा आफूजस्ता साना किसानहरुले थप सास्ती खेप्नुपरेको उहाँको भनाइ छ ।
त्रिनगर हाटवजार व्यवस्थापन समितिका अध्यक्ष गुड्डु सिंहले धनगढीको एक मात्रै हाटबजार लाग्ने त्रिनगर हाटवजार संचालनमा रहेको भए पनि हप्ताका तीन दिन मात्रै सो हाटबजार संचालनमा आएकाले बाँकी दिन उपभोक्ता र किसान दुवैलाई समस्या भएको बताउनु भयो ।

उहाँले भन्नभयो–‘अन्य दिनका लागि निर्माण गरिएका हाट वजार संञ्चालनमा आएपछि किसानलाई आफूले उत्पादन गरेको तरकारी उचित मुल्यमा विक्रीवितरण गर्न सहज हुन्थ्यो । उपभोक्ताले पनि प्रत्येक दिन ताजा तरकारी खरिद गर्न पाउथे । वाडास्तरमा निर्माण गरिएका हाटबजारहरु सञ्चालनमा ल्याउन जरुरी छ ।’
प्रदेश सरकारले स्थानीय किसान र उपभोक्ताहरुको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिका, टिकापुर नगरपालिका, गौरीगंगा नगरपलिका, घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका र बर्दगोरिया गाउँपालिकामा आर्थिक वर्ष ०६७÷०७७ मा १ करोड १२ लाख रुपियाँ बजेट खर्च गरेर निर्माण गरिएका संरचनाहरु सञ्चालनमा आउन नसक्दा कृषक र उपभोक्ताहरुले समस्या भोग्नुपरेको कृषि ज्ञान केन्द,्र कैलालीका सूचना अधिकारी दुर्गा ओझाले बताउनु भयो ।

धनगढी उपमहानगरपालिका—१८ स्थित कृषि हटबजार व्यवस्थापन समिति, टिकापुर नगरपालिका—१ स्थित कृषि हाटबजार व्यवस्थापन समिति, गौरीगंगा नगरपालिका–९ स्थित कृषि उपज संकलन केन्द्रलाई १३ लाख, घोडाघोडी नगरपालिका–१ सुखडस्थित कृषि हाटबजार व्यवस्थापन समितिलाई ४२ लाख, लम्कीचुहा नगरपालिका–८ गोप्कास्थित कृषि हाटबजार तथा सांस्कृतिक संरक्षण समितिलाई १३ लाख १८ हजार र बर्दगोरिया गाउँपालिका—५ स्थित प्रगतीशिल कृषि हाटबजार व्यवस्थापन समितिलाई ६ लाख ५९ हजार अनुदान दिएर संचालनका लागि पटकपटक अनुरोध गर्दा पनि सञ्चालनमा ल्याउन नसकिएको र हाल टिकापुर नगरपालिका—१ स्थित कृषि हाटबजार मात्रै सञ्चालनमा आएको उहाँले बताउनु भयो ।