दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर एक जना पुरुष बेपत्ता भएका छन् । ब्याँस गाउँपालिका–२ तल्लो दुम्लिङ्गका २८ वर्षीय नारायण बुढाथोकी ०८२ असार ३१ गते तुइनबाट खसेर बेपत्ता हुुनुभएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर छत्रबहादुर रावतले जानकारी दिनुभयो ।
दुम्लिङ्ग (नेपाल)बाट भारततर्फ तुइन मार्फत जाँदै गर्दा डोरी चुडिएर बुढाथोकी महाकाली नदीमा खसेको उहाँले बताउनु भयो । नेपालतर्फ दुम्लिङ्ग र भारततर्फको गर्भाधार क्षेत्रमा वारपार गर्न अवैध रूपमा तुइन लगाउने गरेको पाइएको छ ।
बेपत्ता बुढाथोकीसँगै अन्य दुई जना स्थानीय एकै पटकमा तुइन तरिरहेका बेला डोरी चुडिएको स्थानीयले जानकारी दिनुभयो । यस्तै, सँगै तुइन तरिरहेका उहाँहरू मध्ये दुई जना सकुशल छन् भने नारायण महाकालीमा खसेर बेपत्ता भएको इन्स्पेक्टर रावतको भनाइ छ ।
बेपत्ता नारायणको खोजीकार्यका लागि मातहत प्रहरी युनिटहरूलाई निर्देशन दिएको प्रहरी इन्स्पेक्टर रावतले बताउनु भयो । घटनास्थल जिल्ला सदरमुकाम खलङ्गाबाट उत्तरमा पर्छ । व्याँस गाउँपालिका वडा नम्बर २ को मालघाटमा तुइन विस्थापन गरेर झोलुङ्गे पुल सञ्चालन भएको भए पनि दुम्लीङमा अझै पुल बनेको छैन् । नेपालतर्फको दार्चुला–तिंकर सडक निर्माणाधीन छ ।