INSEC Online

📅 २०८३ जेष्ठ २१

जोखिममै पढ्नुपर्ने बाध्यता

दार्मा गाउँपालिका–२ लिरापाजा स्थित जनज्योति आधारभूत विद्यालयका विद्यार्थीहरु निर्माण सम्पन्न नभएका भवनमा पढ्न बाध्य भएका छन् । यहाँका विद्यार्थीहरु ढलान मात्र गरी अधुरो रहेको भवनमा प्लाईउडले बारेर बनाइएको कक्षाकोठामा बसेर पठनपाठन गर्दै आएका छन् । कर्णाली प्रदेश सरकारको गत आर्थिक वर्षमा ७० लाख रुपियाँ बजेटमा निर्माणाधीन भवन बजेट अभावका कारण पूर्ण हुन सकेको छैन । वर्षातको समय भएकोले पानी कक्षाकोठा भित्रै छिर्ने, हावाहुरी चल्दा बस्नै नमिल्ने र धुलाम्मे भुइँमा म्याट बिछ्याएर बस्दै आएका छन् । कक्षा १, २ र ३ का ५२ जना विद्यार्थीको पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक कर्णबहादुर केसीले बताउनु भयो । ‘कक्षाकोठाको भुइँको चिसोका कारण विद्यार्थी बिरामी पर्न थालेका छन् । ५२ जनालाई एउटै कक्षामा राखेर पठनपाठन गराउदै आएका छौँ, उहाँले भन्नुभयो । विद्यालयको कक्षाकोठाको भौतिक संरचनाले गर्दा विद्यार्थीहरु विद्यालय आउनै छाडेको उहाँले बताउनु भयो ।

balbalika padahai
वि. सं. २०४६ सालमा विद्यालयको स्थापना गरिएको थियो । पुरानो भवन भूकम्पका कारण चर्किएको र विद्यार्थीलाई चर्किएको कोठामा राखेर पढाउँदा जोखिम हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश खत्रीले बताउनु भयो । दार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम वलीले प्रदेश सरकारले बनाएको भवन अधुरो भएकोले विद्यार्थीलाई समस्या भएको भन्दै यो वर्ष पालिकाले ३० लाख रुपियाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

 

अन्य

भिडियो