हिमपहिरोको जोखिम बढेपछि नाम्खा गाउँपालिका–६ को हिमालपारीको तीला गाउँका स्थानीय गाउँ छोड्ने तयारीमा रहेका छन् । गत जेठ १ गते हिमतालको पानी चुहिएर पहिरो जाँदा गाउँ जोखिममा परेपछि हाल तीला गाउँका स्थानीय गाउँपारी सुरक्षित चौरमा बास बस्दै आएका छन् । हिम पहिरोले गाउँ जोखिममा परेको र अब त्यहाँ बस्न उपयुक्त नहुने निष्कर्षमा तील गाउँबासी पुगेका हुन् ।
लिमीको तील गाउँमा हाल सुरक्षित स्थानमा पाल टाँगेर बस्दै आउनुभएका छिरिङ छिमेल तामाङले हिमपहिरो पीडित सबै गाउँ छोडेर जाने तयारीमा रहेको बताउनुभयो । उहाँले अब जहिले पनि तील गाउँ हिमपहिरो र पहिरोको उच्च जोखिममा रहेको स्थानीयले निष्कर्ष निकालेको र आउने कात्तिक मङ्सिर महिनापछि गाउँ नै छोड्ने तयारीमा रहेको बताउनुभयो ।
अर्का स्थानीय छिरिङ लामाले डर र त्रासले गर्दा आफुहरुलाई गाउँ छोड्न बाध्य भएको बताउनुभयो । हिमपहिरो जाँदाको रात सम्झदै उहाँले त्यो दिन कसरी बाँचिए छ भन्ने लाग्न थालेको बताउनुभयो । घरका सदस्य मध्य तीन जना हाल काठमाडौँमा बस्दै आएको जानकारी दिँदै उहाँले जसरी पनि गाउँ छोडेर काठमाडौं आउनु हुन आग्रह गरेकोे बताउनुभयो । घरमा ताला लगाउन, जग्गा बाँजो राख्न सहज भए पनि पशुवस्तु भने कसरी व्यवस्थापना गर्ने भन्ने चिन्ता भने रहेको उहाँको भनाइ छ ।
लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले गाउँ छोड्न नमान्ने तील गाउँका केही घरधुरीहरु पनि गत जेठमा खसेको हिमपहिरोको डरले अब गाउँ छोडेर जाने निष्कर्षमा पुगेको जानकारी दिनुभयो । तील गाउँवासीको यो तयारीबारे बुझेपछि निक्कै सम्झाउन खोजे पनि उनीहरु गाउँ छोड्ने अन्तिम तयारी गरिरहेको गाउँपालिका अध्यक्ष प्रेम लामाको भनाइ छ । उहाँका अनुसार तत्काल वस्ती विस्तारका लागि गाउँपालिकालाई ठूलो रकम नहुने भएकोले प्रदेश र संघीय सरकारले गर्नु पर्ने छ ।