सिरहा नपा-७ स्थित मालपोत कार्यालय भित्र पुस ७ गते दिउँसो १ः३० बजे कुकर बम विष्फोट हुँदा तीन जना घाइते भएका छन् ।
मालपोत कार्यालयका कार्यालय प्रमुखको कक्ष अगाडि राखिएको सोफा तलबाट बम विष्फोट हुँदा तीन जना घाइते भएका हुन् ।
घाइते हुनेहरूमा सिरहा नपा-१२ का ४५ वर्षीय राजकुमार पासवान, उनका २५ वर्षीय छोरा रोशन पासवान र सिरहा नपा-१ का लेखापढी व्यवसायी ४० वर्षीय पवन पासवान छन् ।
दुई जना घाइतेहरूको उपचार जिल्ला अस्पताल सिरहामा भइरहेको छ भने पवन पासवानलाई थप उपचारको लागि विराटनगर स्थित न्यूरो अस्पतालमा पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी राजन भेटवालका अनुसार घटनास्थल नियन्त्रणमा लिएर विष्फोट कसले र किन गराएको भन्ने विषयमा अनुसन्धान भइरहेको बताए ।