२० वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत प्रलोभन देखाई भारत लगेर जबरजस्ती नाच्ने कार्यमा लगाइएको आरोपमा भारतको बिहार राज्य पूर्वी चम्पारण जिल्ला थाना पकरीया ग्राम पिपराका २८ वर्षीय टिंकु भनिने अरुण जैसवाललाई ०८२ असार २३ गते पर्सा जिल्ला, पोखरिया नगरपालिका-१ बाट गिरफ्तार गरेको मानव बेचबिखन अनुसन्धानका एसपी नरेन्द्रबहादुर कुँवरले बताउनु भयाे।
पीडित महिलाका अनुसार जैसवालले फेसबुकमार्फत सम्पर्क गरी वीरगञ्जमा आयोजना हुने स्टेज डान्स शो मा सहभागी गराउने भन्दै प्रति शो ४ हजार रुपियाँ पारिश्रमिक, खाना बस्न निःशुल्क व्यवस्था हुने र आर्थिक अभाव भएमा लिन पठाउने आश्वासन दिएका थिए। सोही आश्वासनमा पीडित महिला ०८१ चैत ३० गते राति कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकबाट पठाओमार्फत थानकोट पुर्याइएकी थिइन्।
थानकोटबाट बस चढाई भारतको मोतीहारी जिल्ला, छौडादानो कठनौतिया पुर्याइ म्युजिकल आर्केस्ट्रा ग्रुप लेखिएको घरमा राखिएको र त्यहाँबाट उनलाई दैनिक पाँच स्थानमा १७/१८ घण्टासम्म नाच्न बाध्य बनाइएको पीडित महिलाले बताइन। त्यहाँ उनलाई यौन दुर्व्यवहारसमेत गरिनुका साथै बिरामी हुँदा उपचार नगराइ मोबाइल खोसी बन्धक बनाएर जबरजस्ती काममा लगाइएको थियो।
माइती नेपालको पहलमा पीडितको उद्धार गरिएको एसपी कुँवरले बताउनु भयो।
जैसवाललाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेको मानव बेचबिखन अनुसन्धान कार्यालयले जनाएको छ।