वीरेन्द्रनगर नपा-५ का २४ वर्षीय तेज सोनी जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेको अवस्थामा पुस ४ गते साँझ प्रहरी र हिरासतमा राखिएका थुनुवाको कुटपिटबाट दाहिने हात भाँचिएको पीडित पक्षले आरोप लगाएका छन् ।
वाइसीएल कार्यकर्ता गोविन्दप्रताप मल्लमाथि केही दिन अघि वीरेन्द्रनगरमा भएको कुटपिट घटना सम्बन्धमा सोधपुछका लागि गिरफ्तार गरिएका सोनीलाई हिरासत पुर्याइए लगत्तै प्रहरी र हिरासतमा राखिएका थुनुवाले जथाभावी कुटपिट गर्दा दाहिने हात भाँचिएको पीडितले आरोप लगाए ।
वीरेन्द्रनगर नपा-३ एरिचोकबाट गिरफ्तार गरिए लगत्तै सोनी र उनका २५ वर्षीय साथी सन्तोष खड्कालाई क्षेत्रीय अस्पताल कालागाँउमा मेडिकल जाँच गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा पुर्याउनासाथ सुरूमा प्रहरी र हिरासतमा राखिएका १० जनाको सङ्ख्यामा रहेका थुनुवाले आक्रमण गरेको सोनीको भनाई छ । प्रहरी र थुनुवाको कुटपिटबाट खड्का पनि घाइते भएका छन् ।
वीरेन्द्रनगरस्थित देउती नर्सिङ्ग होममा उपचार गराइरहेका घाइते सोनीको शरीरभर निलडाम रहेको छ । प्रहरी र थुनुवाको कुटपिटबाट घाइते भएको एक घण्टापछि मुक्त गरिएका सोनी र खड्काले हिरासतबाट बाहिर ल्याएपछि पनि प्रहरीले आफूहरूलाई कुटपिट गरेको आरोप लगाए । पीडित सोनी र खड्काले कुटपिटमा संलग्न प्रहरीलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर धुव्र थापाले थुनुवाहरूको कुटपिटबाट सोनीको हात भाँचिएको र थुनुवाहरूले कुटपिट गर्न थालेपछि प्रहरीले उनीहरूलाई छुट्टयाउन मात्र गएको बताए ।