इच्छाकामना गाउँपालिकाद्वारा विपन्न चेपाङ्ग समुदायका लागि सात ओटै वडामा ४५ ओटा घर बनेका छन् । जम्मा ३ करोड ३० लाख लागतमा घरहरु बनेका हुन् । जनता आवास कार्यक्रम अन्तर्गत बनेका घरहरू सबै निर्माण सकिएकाले छिटै घरधनीलाई हस्तान्तरण हुने गाउँपालिका प्रमुख दानबहादुर गुरुङले बताउनु भयो ।
‘अघिल्लो आर्थिक वर्षमा २२ ओटा घर बनाई पालिकाले हस्तान्तरण गरेको हो, यस पटक ४५ ओटा घर हस्तान्तरणको अन्तिम तयारीमा छ, इच्छाकामना गाउँपालिका प्रमुख दानबहादुर गुरुङले बताउनु भयो ।’ विपन्न चेपाङग समुदायको लागि लक्षित गरेर इच्छाकामना गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा चेपाङग आवास कार्यक्रम समेटेर अघि बढेको पालिका प्रमुख गुरुङको भनाइ छ ।
इच्छाकामना वडा नं ३ का अध्यक्ष नरबहादुर नेपालले ४ लाख रुपैयाँ लागतमा एउटा घर बनेको बताए । ४ नं. वडाका अध्यक्ष रुद्र उप्रेतीले आफ्नो वडामा ७ ओटा चेपाङ्ग आवासका घरहरू बनेको जानकारी दिए । उनले भने, ‘चेपाङ्ग जाति भित्र पनि विपन्नको लागि यो कार्यक्रम निकै प्रभावकारी बनेको छ ।’
हालै सार्वजनिक भएको बागती प्रदेशको नीति तथा कार्यक्रममा पनि यो कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
