INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालय हाताभित्र नहर: जोखिममा बालबालिका

मधुवन नगरपालिका– १ सूर्यपटुवामा रहेको त्रिभुवन माध्यमिक विद्यालयको हाताभित्र रहेको नहर खुला हुँदा विद्यार्थीहरु जोखिममा रहेको पाइएको छ । विद्यालय हातिभित्र करिब २ सय मिटर लामो र करिब २ मिटर गहिरो खुला नहर हुँदा विद्यार्थीहरु जोखिममा रहेको पाइएको हो ।

विद्यालयमा ८ सय १५ जना विद्यार्थीहरूले पठनपाठन गर्दै आइरहेका छन् । विद्यालयको हाताभित्र रहेको नहरको दुवै साइडमा विद्यालयको कक्षाकोठा रहेको छ । विद्यार्थीहरु सोही नहरको बाटो भएर कक्षाकोठामा जाने गरेका छन् । विद्यालयमा सोही नहरको बाटोबाट हिँड्ने क्रममा यस अघि दुई जना बालक नहरमा खसेर घाइते समेत भएका थिए । विद्यालय हाताभित्र नगह हुँदा पनि सरोकारवाला निकायले यसको निर्माणको लागि कुनै चासो दिएका छैनन् ।

Photo 2025-05-25 Bardiya-01 (2)

अन्य समयमा नहरमा पानी नभए पनि बर्खा सुरु भएसँगै विद्यार्थी नहरमा खस्ने हुन् की भन्ने विद्यालयलाई चिन्ता हुने गरेको प्रधानाध्यापक इन्द्रबहादुर सुनारले बताउनु भयो ।

विद्यालयभित्र रहेको नहर १ सय ५२ मिटर लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले गत वर्ष निर्माण गरेको छ भने अझै ५० मिटर नहर अस्थायी प्रकृतिको रहेको छ । मन्त्रालयले निर्माण गरेको सो नहर खुला हुँदा विद्यार्थी डुब्ने तथा पानी नभएको समयमा पनि खसेर घाइते हुने जोखिम उत्तिकै रहेको छ ।

विद्यालय हाताभित्र निर्माण गरिएको नहर करिब चार मिटर चौडाइ र करिब दुई मिटर गहिराइ रहेको हुनाले नहर माथिबाट छोप्न सकियो भने पनि बालबालिकालाई सुरक्षित राख्न सकिन्छ प्रधानाध्यापक सुनारले बताउनु भयो ।

Photo 2025-05-25 Bardiya-01 (1)

मधुवन नगरपालिका –१ का वडा सदस्य तथा विद्यालय व्यवस्थापन विकास समितिका अध्यक्ष राम चरण थारुले लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमा नहरलाई व्यवस्थापित गर्नका लागि बजेट माग गरिएको बताए । उनले भने, ‘मन्त्रालयबाट बजेट पठाउने विषयमा सकारात्मक भएपनि बजेट पर्छ वा पर्दैन अझै अन्यौल रहेको छ ।’

मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले विद्यालय हाताभित्र रहेका नहरलाई बन्द गर्नका लागि पालिकाले निर्माण गर्ने बजेटमा छलफल गरिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म के गर्ने भन्ने विषयमा निर्णय भएको छैन् । नगरसभाबाट निर्णय भएपछि मात्र निर्माण गर्न सकिन्छ ।’

अन्य

भिडियो