बढैयाताल गाउँपालिका–९ मा रहेको मुक्त कमैया आधारभूत विद्यालयको दुईकोठे टिनको छानो हावाहुरीले उडाएको करिब दुई महिना हुँदा समेत मर्मत हुन सकेको छैन ।
विद्यालयमा बालबालिकालाई दिवा खाजा बनाउन प्रयोग हुँदै आएको भवनकाे छानो नहुँदा खाजा बनाउन समस्या हुने गरेको छ । विद्यालयमा करिब १ सय ३० जना विद्यार्थी रहेका छन् । हावाहुरीले छानो उडाएपछि चौरमा खाजा बनाउन थालिएको छ । अत्याधिक गर्मी र वर्षायामको समय भएकाले खाजा बनाउन समस्या हुने गरेको प्रधानाध्यापक हितराज सुवेदीले बताउनु भयो ।
गत वैशाख २१ गते आएको हावाहुरीले विद्यालयको टिनको छानो उडाएको थियो । विद्यालयको आन्तरिक स्रोत नहुँदा हावाहुरीले उडाएको छानो मर्मत गर्न नसकिएको हो । विद्यालयमा छानो निर्माणका लागि वडा, पालिका सबैतिर जानकारी गराउँदा समेत कहीँकतैबाट सुनुवाइ नभएको प्रधानाध्यापक सुवेदीले बताउनु भयो ।
वडामा बजेट नभएको हुँदा विद्यालयमा छानो मर्मत गर्न नसकिएको वडाध्यक्ष वीरबहादुर थारूले बताए । आगामी आर्थिक वर्षको बजेटबाट विद्यालयको भवन मर्मत सम्भार गर्न वडाले बजेट व्यवस्थापन गर्ने उहाँले बताउनु भयो ।
