शारिरीक अपाङ्गता हुनु भएकी २८ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चैनपुर नगरपालिका-२ का ४५ वर्षीय तुपुवाली काइला भनिने धनबहादुर लिम्बूलाई आठ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश ध्रुवराज त्रिपाठीको ०८२ असार ८ गतेको इजलासले कसुर गरेको ठहर गर्दै आठ वर्ष ६ महिना कैद सजायको फैसला आदेश भएको अदालतका श्रेस्तेदार भरतमणि पोखरेलले बताउनु भयो ।
अदालतको सोही आदेशले कसुरदारलाई ३ लाख रूपियाँ जरिबाना, १ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको श्रेस्तेदार पोखरेलले बताउनु भयो ।
पीडित महिलालाई ०८० मङ्सिर २२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले धनबहादुर लिम्बूविरूद्ध ०८० मङ्सिर २२ गते इलाका प्रहरी कार्यालय, चैनपुरमा उजुरी दिएको थियो ।
प्रहरीले धनबहादुरविरुद्ध जिल्ला अदालतमा ०८० मङ्सिर २४ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको ०८० पुस १५ गतेको इजलासले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्रमा ०८० मङ्सिर २८ गते गरिएको थियो ।