INSEC Online

📅 २०८३ जेष्ठ २१

थप दाइजोको निहुँमा घर निकाला गरेको घटनाका आरोपित गिरफ्तार

अर्नमा गाउँपालिका-२ की २३ वर्षीया मनिषा कुमारी गामीलाई थप दाइजोको निहुँमा घर निकाला गरेका आरोपित ४८ वर्षीया सासु ललिता प्रधानलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८२ असार ३ गते गिरफ्तार गरेको छ ।

पीडितले आरोपित २४ वर्षीय पति मुकेश प्रधान सुडी, सासु र ५० वर्षीय ससुरा गौरीशंकर प्रधान सुडीविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा जेठ ६ गते उजुरी दिनु भयो ।

पीडित गामीका अनुसार काठमाण्डौंमा बसी अध्ययनको क्रममा आरोपित मुकेश प्रधान सुडीसँग प्रेम भई काठमाडौंमा सँगै बस्दै आएको र घर परिवारको सहमतिमा ०८० वैशाख २८ गते विवाह भएको थियो । विवाहमा मुकेशका बुबा गौरीशंकर प्रधान सुडीले माग गरेको अनुसार १० लाख रुपियाँ नगद, एक थान मोटरसाईकल, सात तोला सुन, ४ लाख रुपियाँ बराबरको फर्निचर लगायतका सामग्रिहरू दाइजो स्वरुप दिएको पीडित महिलाले बताउनु भयो ।

तर, विवाह पश्चात ०८० भदौ ५ गते थप दाइजो माग गर्दै आरोपितहरूले गालिगौज र कुटपिट गर्नुका साथै दाइजोमा दिइएका गरगहनाहरू खोसेर घरबाट निकालिदिएकोले आरोपितहरूविरुद्ध अदालतमा घरेलु हिंसा र माना चामल सम्बन्धि मुद्दा दायर गरेको पीडितले बताउनु भयो ।

त्यसैगरी, आरोपितहरूले मुद्दा फिर्ता लिन आफूलाई फकाइ फुल्याइ एर घरमा ल्याएको भए तापनि ०८२ जेठ १ गते थाप दाइजो स्वरुप ६० लाख रुपियाँ नगद, कार, २० तोला गहना र बन्दीपुरमा जग्गा किन्नका लागि नगद ल्याए मात्र घरमा बस्न दिने भनि आरोपितहरूले कुटपिट गरी घरबाट निकालिदिएको पीडितको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विरेन्द्र कुमार पासवानले खोजतलासको क्रममा आरोपित सासुलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको बताउनु भयो । अन्य आरोपितहरूको खोजतलास पनि गरिरहेको डिएसपी पासवानले जानकारी दिनु भयो ।

अन्य

भिडियो