दुहवी नगरपालिका-६ मा रहेको छाला फ्याक्ट्री पीडित सङ्घर्ष समितिले छाला उद्योगका कारण विभिन्न प्रकारका स्वास्थ्य समस्यासँगै पर्यावरणमा समेत नकारात्मक असर परेको विषयमा कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयमा असार २ गते ज्ञापनपत्र बुझाएको छ ।
दुहवी नगरपालिका-६ मा रहेको युनाइटेड टेनेरिज छाला उद्योगका कारण पीडित भएकाहरूको प्रतिनिधित्व गर्दै युनाइटेड टेनेरिज छाला उद्योगविरूद्ध छाला फ्याक्ट्री पीडित सङ्घर्ष समितिले ०८२ असार २ गते वन तथा वातावरण मन्त्रालयमा ज्ञापनपत्र बुझाएको सङ्घर्ष समितिका अध्यक्ष मोहम्मद साहिनले बताउनु भयो ।
छाला प्रशोधन गर्ने उद्योगका कारण समस्यामा परेकाले उद्योगविरूद्ध वातावरण मन्त्रालयमा ज्ञापनपत्र बुझाएको अध्यक्ष साहिनले बताउनु भयो ।
नेपालको संविधानको धारा ३० अनुसार प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने हक भएपनि दुहवी नगरपालिका-६ मा रहेको युनाइटेड टेरेजिन उद्योगका कारण संविधाने प्रदान गरेको मौलिक हकबाट वञ्चित भएकाले वातावरण मन्त्रालयमा ज्ञापनपत्र बुझाउनु परेको अध्यक्ष साहिनको भनाइ छ ।
“छाला उद्योगको कारण हामी सम्पूर्ण गाउँबासी दीर्घकालीन समस्यामा परेका छौँ, यहाँको सरसफाइ प्रणाली अस्तव्यस्त छ, अस्वस्थ दुर्गन्ध आउँछ, प्राकृतिक पानी स्रोत प्रदूषित भएको छ।” ज्ञापनपत्रमा उल्लेख छ ।
युनाइटेड टेनरिज प्रालिले वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अघि नबढाइ उद्योग चलाइ रहेकाले तत्काल उद्योगको स्थानान्तरण वा उद्योग बन्दको माग ज्ञापनपत्रमा गरिएको छ ।
दुहवी नगरपालिका-६ मा रहेको एशियन लेदर उद्योग र युनाइटेड टेनेरिज उद्योगका कारण त्यस क्षेत्रका स्थानीय वर्षौदेखि प्रभावित हुँदै आएका छन् ।
वातावरणीय प्रभाव मूल्याङ्कन र पर्यावरणमा हानी नहुने गरी उद्योग सञ्चालन गर्नुपर्ने भएपनि एशियन लेदर उद्योग र युनाइटेड टेनेरिज उद्योगले दुवै कुरालाई वेवास्ता गरी उद्योग सञ्चालन गर्दै आएका छन् ।
एशियन लेदर उद्योग र युनाइटेड टेनेरिज उद्योगका कारण वातावरण र दुहवी नगरपालिका ६ का स्थानीयको स्वास्थ्यलगायतमा पारेको प्रभावको विषयलाई स्वच्छ वातावरणको अधिकार विपरित भएको सन्दर्भलाई इन्सेकले प्रकाशन गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ ले आलेखमार्फत उठान गरेको छ ।
