जनकपुरधाम उपमहानगरपालिका-२१ की ३२ वर्षीया राखी देवी दासले ३७ वर्षीय पति पप्पु दासविरुद्ध जेठ २६ गते कुर्था प्रहरी चौकीमा उजुरी दिनुभएको छ ।
पीडित र आरोपित बिच ०८१ वैशाख १० गते सामाजिक परम्परागत अनुसार विवाह भएको थियो । विवाहमा दाइजो स्वरुप १ लाख रुपियाँ नगद, एक थान पल्सर मोटरसाइकल, एक तोला सुन र फर्निचरका सामग्रिहरू बेहुला पक्षलाई दिएको भए तापनि विवाहको ६ महिना नबित्दै थप दाइजो माग गर्दै साउन २ गते आरोपित पतिले पीडितलाई कुटपिट गरी घरबाट निकालिदिएको पीडित पक्षले बताउनु भयो ।
त्यसैगरी, आरोपितविरुद्ध पीडितले साउन २ गते कुर्था प्रहरी चौकीमा उजुरी दिएकोमा उक्त उजुरीको आधारमा आरोपित पतिलाई सोही दिन गिरफ्तार गरेको थियो । प्रहरी चौकीमा दुई पक्ष बिच छलफल भएको थियो । छलपलमा आरोपितले आफ्नो गल्ती स्वीकार गर्दै सहमति भएको थियो । तर, जेठ २५ गते दाइजोकै लागि पुनः आरोपितले पीडित पत्नीलाई कुटपिट गरी घाइते बनाएका छन् । कुटपिटबाट पीडितको टाउको र नाकमा चोट लागेको छ । पीडितको स्वास्थ्य उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ । आरोपित ज्वाई घटनापश्चात फरार भएको पीडितका बुवा राम वृक्ष दासले बताउनु भयो ।
कुर्था प्रहरी चौकीका वरिष्ठ हवलदार रामचन्द्र मण्डलले आरोपितको खोजतलास गरिरहेको जानकारी दिनुभयो ।