पोखरा महानगरपालिका वडा नमबर १२ स्थित अमरसिंह माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एक विद्यार्थीमाथि विद्यालयकै एक शिक्षकले गरेको कुटपिट घटनाप्रति बालअधिकार क्षेत्रमा क्रियाशील नागरिक समाज संगठनहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन् ।
जेठ २५ गते कम्प्युटर शिक्षक दिपक दाहालले विद्यार्थी कुटपिट गरेको विषयलाई नागरिक समाजले ध्यानाकर्षण गराएका हो ।
कक्षा १० (ख) मा पढ्ने १५ वर्षीय छात्रलाई कम्प्युटर शिक्षक दाहालले देव्रे साइडको कन्चटमा प्रहार गरेका थिए । कानको बिचको जोर्नीमा मुड्की प्रहार गरेका थिए । शिक्षक दाहालको कुटपिटबाट विद्यार्थीको अनुहार भरी पनि चोट लागेको छ । उनको पार्कल्याण्ड अस्पतालमा उपचार भएको छ ।
उक्त घटनालाई लिएर सात वटा बालअधिकार, शिक्षा तथा मानवअधिकार क्षेत्रमा क्रियाशील संघसंस्थाहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न शिक्षकमाथि छानबिन गरी कडा कारबाही गर्न माग गरेका छन् । घाइते विद्यार्थीको निशुल्क उपचारको व्यवस्था गर्न पनि माग गरेका छन् ।
संविधानको धारा ३९ (७) र बालबालिका सम्बन्धी ऐन २०७५ का प्रावधानहरू उल्लंघन भएको भन्दै प्रेस विज्ञप्तिमा घटनालाई गम्भीर आपराधिक कार्यका रूपमा व्याख्या गरिएको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार विद्यालय, घर वा जुनसुकै स्थानमा बालबालिकालाई यातना दिन नपाइने कानुनी व्यवस्था छ, र त्यस्ता कार्य गरेमा दण्डनीय हुने प्रष्ट उल्लेख गरिएको छ ।
संगठनहरूले बालबालिकामाथि विद्यालयमा हुने हिंसालाई सामान्यीकरण गर्ने प्रवृत्तिले यस्ता घटनालाई थप प्रश्रय दिइरहेको बताएका छन्। साथै, विद्यालयहरूमा बालसंरक्षण मापदण्ड लागू नभएको र गुनासो सुनुवाइ संयन्त्र प्रभावकारी नहुँदा बालबालिका अझै पनि असुरक्षित रहेको उल्लेख गरिएको छ ।
संयुक्त अपिलमा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन विद्यालयहरूलाई बालमैत्री र बालसुरक्षित वातावरण बनाउन स्थानीय सरकार, विद्यालय प्रशासन तथा सम्बन्धित सबै पक्षलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गरिएको छ । साथै, सबै विद्यालयमा ‘विद्यालय शान्ति क्षेत्र’ को राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका लागू गर्न जोड दिइएको छ ।
प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्ने संगठनहरूमा बालअधिकार मञ्च, सिजोप राष्ट्रिय अभियान, शिक्षाका लागि राष्ट्रिय अभियान, बालहितकारी परियोजना नेपाल, इन्सेक पोखरा, सिविन नेपाल पोखरा, असल छिमेकी सहयोग संघ (गोनेसा) र मानव अधिकार एलायन्स कास्की रहेका छन् ।