INSEC Online

📅 २०८३ जेष्ठ २१

तीन पालिकाले गरे महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा

बर्दियाका तीन ओटा पालिकाले स्वास्थ्य बिमाको पहुँच बाहिर रहेका महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बिमा गर्ने भएको छ । इन्सेक अनलाइनमा ०८२ वैशाख १३ गते प्रकाशित भएको समाचारको प्रभावले पालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउने निर्णय गरेका छन् ।

बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ भने गुलरिया नगरपालिका, राजापर नगरपालिका, बाँसगढी नगरपालिका , गेरुवा गाउँपालिका, बढैयाताल गाउँपालिकाले स्वास्थ्य बिमा गराउने विषयमा भने खासै चासो दिएका छैनन् ।

इन्सेक अनलाइनमा ‘बर्दियामा ६४.२८ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविका बिमाको पहुँचभन्दा बाहिर’ शीर्षकमा समाचार प्रकाशन हुँदा ३५.७२ प्रतिशत महिलाहरू स्वास्थ्य बिमाको पहुँचमा रहेका थिए । तर समाचारको प्रभावले गर्दा पालिकाले निःशुःल्क स्वास्थ्य बिमा गराउने भएपछि स्वास्थ्य बिमा गराउने ५८.५५ प्रतिशत भएका छन् । अझै पनि ४१.४५ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविका बिमाको पहुँचभन्दा बाहिर छन् ।

आर्थिक समस्या र सेवा सुविधाको कमीले गर्दा धेरै स्वयंसेविकाले बिमा नविकरण गर्न नसकेको गुलरिया नगरपालिका–७ की महिला स्वास्थ्य स्वयंसेविका सरस्वती पोखरेलले बताउनु भयो ।

स्वास्थ्य बिमा बोर्ड र स्थानीय तहबीच भएको समन्वयले स्वयंसेविकालाई छुट, सहभुक्तानी र परिचय पत्रको व्यवस्था मिलाइएको छ । बिमा गर्दा स्वयंसेविकाका परिवारलाई उपचार खर्चमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ । यसका साथै, स्वयंसेविकाले स्वास्थ्य संस्थामा उपचार गर्दा सहभुक्तानी गर्नुपर्ने छैन ।

स्वयंसेविकाले छुट प्राप्त गर्नका लागि सरकारले उपलब्ध गराएको परिचय पत्र दर्ता सहयोगीलाई उपलब्ध गराउनु पर्ने हुन्छ र स्वयंसेविकालाई स्वास्थ्य संस्थामा उपचार गर्दा सहभुक्तानी नलाग्ने स्वास्थ्य बिमा बोर्डकाका कार्यालय प्रमुख डिकेन्द्र बिष्टले बताउनु भयो ।

बर्दियामा पछिल्लो समय स्थानीय तहले पनि महिला स्वास्थ्य स्वयंसेविकालाई अनिवार्य स्वास्थ्य बिमामा कसरी जोड्न सकिन्छ भनेर सहकार्य गरिरहेको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीका अनुसार महिला स्वास्थ्य स्वयम्सेविकालाई स्वास्थ्य बिमा सेवामा समावेश गर्न आवश्यक छ । यसले उनीहरूको स्वास्थ्य सुरक्षालाई बलियो बनाउनेछ र सेवा प्रवाहमा सुधार ल्याउनेछ ।

महिला स्वास्थ्य स्वयंसेविकाहरू स्वास्थ्य बिमाको पहुँचभन्दा बाहिर हुनु गम्भीर विषय हो । बर्दिया रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य बिमाको पहुँचसम्म ल्याउन जरुरी रहेको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोर्कण गिरीले बताउनु भयो । उहाँले महिला स्वास्थ्य स्वयंसेविकाले प्राप्त गर्ने सेवा सुविधा स्थानीय तहले दिने भएकोले स्थानीय तहमा रहेका स्वास्थ्य शाखासँग छलफल गरी महिला स्वास्थ्य सेविकालाई स्वास्थ्य बिमाको पहुँच ल्याउन पहल गर्ने जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बर्दियामा ८ सय ३७ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् । पालिकाले स्वयंसेविकालाई स्वास्थ्य बिमा जोड्दै लैजानु सकारात्सक पक्ष रहेको छ ।

अन्य

भिडियो