दीगो विकास लक्ष्यले लक्ष्य नम्वर १३ मा क्लाइमेट चेञ्ज र वातावरणीय प्रभावमा कमीलाई प्रमुखताका साथ व्याख्या गरेको छ ।
नेपालले जलवायु परिर्वतनलगायत दीगो विकास लक्ष्यले उठान गरेका सवाललाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ ।
नेपाल जलवायु परिर्वतन सम्वेदनशील राष्ट्र भएकाले नेपालमा हिमालय पग्लने, बाढीपहिरो र सुख्खा पहिरोलगायतका समस्या दिनप्रतिदिन देखिन थालेका छन् ।
सिङ्गो राष्ट्र जलवायु प्रतिकार्यमा संलग्न भएको अवस्थामा जिल्लाको सूर्योदय नगरपालिकाले वडा ८ र ९ लाई विश्व वातावरण दिवसको अवसर पारेर ०८२ जेठ २२ गते वातावरणमैत्री वडा घोषणा गरेको छ ।

वातावरणमैत्री वडा घोषणाका लागि आवश्यक पर्ने ३२ ओटा सूचक पुरा गरी सूर्योदय नगरपालिकाले वडा ८ र ९ लाई जेठ २२ गते वातावरणमैत्री वडा घोषणा गरेको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले बताउनु भयो ।
जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले मेयर रणबहादुर राईलाई वातावरणमैत्री नगर घोषणा गरिएको प्रमाणपत्र हस्तान्तरण गर्दै वातावरणमैत्री वडा घोषणा गर्नु भएको हो । वातावरणमैत्री वडा घोषणाका ३२ ओटा सूचक छन् । जसमध्ये सूर्योदय नगरपालिका वडा ८ र ९ ले ७० प्रतिशत सूचक पुरा गरेपछि वातावरणमैत्री वडा घोषणा गरिएको वडा ८ का वडाध्यक्ष जङ्ग गुरुङले बताउनु भयो ।
वातावरणमैत्री वडा घोषणा गर्नका लागि नगरले सूर्योदय नगरपालिकाले वातावरणमैत्री स्थानीय शासनसम्बन्धी कार्यविधि २०८० निर्माण गरी कार्य थालेको थियो ।
कार्यविधि सुरुआत भएको दुई वर्ष अर्थात ०८२ भित्रमा फोहोर ब्यवस्थापन, वृक्षा रोपण, प्लाष्टिक न्यूनीकरण, वातावरण शिक्षा सञ्चालन, पानीका मुहान संरक्षण, पानीको परीक्षण, घर करेसाबारी र सार्वजनिक स्थलमा फलफूलका बिरुवा रोपण तथा बोटबिरुवा लगाउने, प्रकोप न्यूनीकरण तथा पूर्व तयारी समिति गठन, बैकल्पिक उर्जा ब्यवस्थापन लगायतका ७० प्रतिशत आधारभूत र परिस्कृत सूचक सूचक पुरा गरेपछि वातावरणमैत्री वडा घोषणा गरिएको सूर्योदय नगरपालिकाका प्रशासकीय अधिकृत लुना खतिवडाले बताउनु भयो ।
सुरुआतमा दुई ओटा वडालाई वातावरणमैत्री बनाए पनि वाँकी १२ ओटै वडामा वातावरणमैत्री अभियान सञ्चालन गरिने भएको छ ।
सूर्योदय नगरपालिका मेयर रणबहादुर राईले वडामा रहेका टोल विकास संस्थाको सहयोगमा मात्र वातावरणमैत्री वडा घोषणा गर्न सफल भएको बताउनु भयो ।
वातावरणमैत्री वडा घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले जलवायु परिवर्तनले सबै क्षेत्रलाई गाँजेको अवस्थामा सूर्योदयले वातावरणमैत्री बन्नका लागि थालेको अभियान प्रशंसनीय भएको बताउनु भयो ।
वातावरणमैत्री वडा घोषणा भएका वडाका प्रत्येक वडामा स्टीकर टाँस गरिने र त्यसबाट नगरका प्रत्येक कुरा थाहा पाउन सकिने भएको छ । वडाले स्थानीय साधन स्रोतको परिचालन, फोहोरमैला ब्यवस्थापन र सुधार, हरियाली प्रवर्धन, खानेपानी तथा सरसफाई, वातावरणीय प्रविधि र नवीकरणीय उर्जा प्रवर्धन, बिपद ब्यवस्थापन, कृषि तथा जैविक खेती, जनचेतना तथा समुदाय सहभागिता सम्बन्धी काम गरेको नगरको बन वातावरण तथा बिपद ब्यवस्थापन शाखा प्रमुख इश्वरी अधिकारीले बताउनु भयो ।
वातावरणमैत्री घोषणा भएका वडाहरुले अब पारिस्थितिक पर्यटन प्रवर्धन गर्ने, विद्यालयमा इको क्लब गठन गर्न, एक घर एक बिरुवा जस्ता कार्यक्रम सञ्चालनको खाका तयार गरेको छ ।