जिल्ला कारागारका हेल्थ असिस्टेन्ट सरुवा भएर गएपछि पछिल्लो दुई महिनादेखि कैदीबन्दीको उपचार तथा सामान्य स्वास्थ्य परीक्षणमा समेत समस्या भएको छ ।
जिल्ला कारागारमा अहिले कैदीबन्दी गरी ९० जना रहेको भए पनि कारागारमा दरबन्दीमा रहेका स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य परीक्षणमा समस्या भएको जेलर प्रतिज्ञा सुवेदी जानकारी दिनुभयो । २५ पुरुष र सात जना महिलाको क्षमता रहेको कारागारमा हाल ६० पुरुष र तीन महिला गरी ६३ कैदी र २४ पुरुष र तीन महिला गरी २७ जना थुनुवा गरी ९० जना रहेका छन् ।
कारागारका स्वास्थ्यकर्मी ०८१ चैत १२ गते सरुवा भएर भेरी अस्पताल गएपछि कारागार स्वास्थ्यकर्मी बिहीन भएको हो ।
नियमित रुपमा औषधी सेवन गर्ने १६ जना बिरामी रहेको कारागारमा नियमित परीक्षणका लागि स्वास्थ्यकर्मी आवश्यक पर्ने भएरै सृजना गरिएको दरवन्दीका कर्मचारी नै अभाव हुँदा समस्या सृजना भएको छ । स्वास्थ्यकर्मी सरुवा भएर गएपछि लोकसेवा आयोगमा माग गरेर पठाएको भए पनि कहिले आउने भन्ने टुंगो नहुने हुँदा कुनै पनि समयमा समस्या हुन सक्ने अवस्था रहेको कारागारका चौकीदार ओमकार बुढाथोकीले बताउनुभयो । पहिला स्वास्थ्यकर्मी हुँदा बिहान बेलुका जति बेला आवश्यक परे पनि उपलब्ध हुन्थ्यो अब केही समस्या भए आवश्यक प्रकृया पूरा गरे जिल्ला अस्पताल पुग्न पर्ने बाध्यता सृजना भएको छ उहाँले सुनाउनुभयो ।
हाल कारागारमा रक्तचापको औषधी सेवन गर्ने १० जना, डिप्रेसनको औषधी सेवन गर्ने दुई जना, मधुमेहको तीन जना, नसासम्बन्धी औषधी प्रयोग गर्ने एक जना कैदीबन्दी रहेका छन् ।