INSEC Online

📅 २०८३ जेष्ठ २१

हावाहुरीका कारण क्षति पुगेका विद्यालय भवनको मर्मतसम्भार नहुँदा पठनपाठनमा समस्या

हावाहुरी र असिना पानीका कारण जिल्लाका एक दर्जन बढी विद्यालयमा क्षति पुगेको छ । ०८२ जेठ ५ गते आएको भिषण हावाहुरीका कारण मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाका दर्जन बढी विद्यालयमा क्षति पुगेपछि पठनपाठन प्रभावितभएको छ ।

मालिकार्जुन गाउँपालिकाका अनुसार वडा नम्बर ४ स्थित खानमावि, ऐरिछानास्थित विद्यालयको छानामा क्षति पुगेको छ । सोही वडाको देवधुरा आधारभूत विद्यालयको टिन उठाएको छ । जसको कारण विद्यालयको पठनपाठनमा समस्या भएको छ ।

यसैगरी वडा नम्बर ५ स्थित सुनशिखर आधारभूत विद्यालय, घोडेढुंगाको विद्यालयको भवनको छानामा क्षति पुगेको छ । वडा नम्बर ६ मा रहेको गरडा मावि, बाकुको तीन कोठे भवनको छाना हावाहुरीले उडाएको छ । विद्यार्थीको लागि खानेपानी व्यवस्थापन गरिएको तीन ओटा ड्रममा क्षति पुगेपछि खानेपानीको समेत समस्या उत्पन्न भई पठनपाठनमा समस्या उत्पन्नभएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र गिरीले जानकारी दिनु भयो ।

photo20250522darchula (3)

‘हावाहुरीका कारण विद्यालयको तीन कोठामा पूर्ण क्षतिभएको छ,’ उहाँले भन्नुभयो, ‘प्रशासन कक्ष र कम्प्युटर कक्ष पनि जोखिमपूर्ण अवस्थामा छ ।’ विद्यालयमा हाल २ सय बढि विद्यार्थी भर्ना भएका छन् । बगर क्षेत्र भएका कारण यो क्षेत्रमा गर्मी निकै हुन्छ । विद्यालयको संरचना पूरै कच्ची छ ।

विद्यालय भवनको पर्खालमा पलस्तर समेत नगरिएको हुँदा गर्मीमा कक्षा कोठाभित्रै सर्प पस्ने डर उतिकै छ । जीर्ण संरचना बारे पटकपटक जानकारी गराए पनि हालसम्म निर्माण नहुँदा शिक्षक विद्यार्थीले जोखिम मोलेरै पढनु पर्ने बाध्यता रहेको प्रधानाध्यापक गिरीको भनाइ छ । अहिले विद्यालयको छाना उडाएका कारण विद्यार्थीलाई रुखको छहारीमा राखेर पढाउनु पर्ने बाध्यता आएको छ ।

मालिकार्जुन गाउँपालिकाकै वडा नम्बर ७ मा रहेको परोपकार आधारभूत विद्यालय, चौकीको दुई कोठे विद्यालय भवनको छाना उडाएको छ । वडा नम्बर ८ मा रहेको बालकल्याण आधारभूत विद्यालय भवनको छानामा क्षति पुगेको मालिकार्जुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिनु भयो ।

photo20250522darchula (2)

यसैगरी शैल्यशिखर नगरपालिकाको लटिनाथ आधारभूत विद्यालय, तल्चौरा शैल्यशिखर ८ र धर्मदेव आधारभूत विद्यालय, शैल्यशिखर ७ को विद्यालय भवनको छाना उडाएकोले पठनपाठन गर्न समस्या भएको शैल्यशिखर नगरपालिकाका शिक्षा शाखा प्राविधिक सहायक बलदेव भट्टले बताउनु भयो । बद्रीनाथ मावि बोहरीगाउँको विद्यालयमा विद्यालयको सोलार सिस्टममा क्षति पुगेको छ ।

यसैबीच मालिकार्जुन गाउँपालिकाले असिना, वर्षा र हावाहुरीका कारण क्षति भएका विद्यालयको पुनर्निर्माण मर्मत सम्भारको लागि प्रदेश सरकारलाई आग्रह गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष हिरासिह धामीले मुख्यमन्त्री कमलबहादुर शाहलाई मागपत्र बुझाउँदै क्षति बारे जानकारी गराउनुभएको छ । हावाहुरीका कारण तीन विद्यालयको छाना पूर्ण क्षति भएको तथा पाँच विद्यालयमा आंशिक क्षति भएको भन्दै राहत तथा पुनर्र्निर्माणको लागि आग्रह गरिएको धामीले जानकारी दिनु भयो ।

photo20250522darchula (4)

विद्यालयमा क्षति पुगेका कारण विद्यार्थीको पठनपाठन समस्या हुने अवस्था आएपछि प्रदेश सरकारसँग मर्मत र पुनर्निर्माणको लागि आग्रह गरिएको अध्यक्ष धामीको भनाइ छ ।

photo20250522darchula (1)

अन्य

भिडियो